एडिलेड नेप्लिज क्रिकेट एशोसिएशनको आयोजनामा यही आउँदो मार्च १५ देखि १७ सम्म एडिलेडमा एक्सपर्ट अस नेपाल अस्ट्रेलियाव्यापी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
अस्ट्रेलियाभर छरिएर रहेका नेपाली समाज र त्यस अन्तर्गत बनेका क्रिकेट टिमहरूबीच आपसी प्रतिस्पर्धा गराइने प्रतियोगितामा न्यु साउथवेल्स, भिक्टोरिया,क्वीन्सल्यान्ड,तास्मानिया र साउथ अस्ट्रेलिया गरी पाँच राज्यको क्रिकेट टिमको सहभागिता रहने छ।
एडिलेडको युनि वेस्टबीच क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिता हेर्न लायक रहने एडिलेड नेप्लिज क्रिकेट संघका अध्यक्ष विजय जोशीले बताए। यहाँ अहिले नेपालबाट खेलिरहेका राष्ट्रियस्तरका खेलाडी र यही राज्यस्तरीय क्रिकेट लिग खेलिरहेका थुप्रै खेलाडी रहेका छन्।
‘सबै राज्यमा नेपालीहरूको बलियो क्रिकेट टिमले यसले आपसी भाइचारासहित क्रिकेटको पदोन्नति हुने समेत विश्वास लिएको छु,’ अध्यक्ष जोशीले भने।
प्रतियोगितालाई एक्सपर्ट एजुकेशनले मुख्य प्रायोजक गरेको छ। एक्सपर्टले अस्ट्रेलियाको नेपाली समुदायको भिन्न सामाजिक कार्यमा सहयोगीको रूपमा भूमिका निर्वाह गर्दै आएको छ।
प्रतियोगिताका बारेमा जानकारी दिँदै एडिलेड नेप्लिज क्रिकेटका कोषाध्यक्ष पारस जोशीले प्रतियोगितामा न्युाउथवेल्सबाट एनसिसिए, टिम क्वीन्सल्यान्ड राइनो, भिक्टोरिया नेप्लिज क्रिकेट एशोसिएशन टिम, एनसीसीबी क्वीन्सल्यान्ड, जिएलसीसी तास्मानिया र आयोजक एएनसीएको टोलीको सहभागिता पक्का भैसकेको बताए।
पुराना राष्ट्रिय क्रिकेटर समेत रहेका पारस जोशीले लिग कम सेमिफाइनलमा खेलाइने प्रतियोगितामा भिन्न राष्ट्रबाट सहभागी खेलाडीलाई एडिलेडको रमणीय क्षेत्रको भ्रमण समेत गराउने योजना रहेको छ।
वास्तवमै यो अस्ट्रेलियामा बस्ने क्रिकेटप्रेमी नेपालीको लागि खुसीको विषय हो, भिक्टोरियन नेप्लिज क्रिकेट संघका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी यशवन्त सुवेदीले बताए।
‘अस्ट्रेलियाको भिन्न राज्यमा छरिएर रहेका नेपाली क्रिकेटरहरूको प्रतिभा निखार्ने मौकाका साथै आपसी भाइचारा समेत वृद्धि गर्ने यो मौकालाई हामी खेर जान दिने छैनौं’,उनले भने।
मेलवर्नको टिमको तयारीमा लागेका यशवन्तले प्रतियोगिता स्तरीय र हेर्न लायक रहने विश्वास व्यक्त गरे।