सोलाङ्चरको आयोजनामा यस वर्ष पनि मेलवर्नमा मःम महोत्सव हुने भएको छ। महोत्सव यही मार्च १७ मा हुने भएको छ।
मःम महोत्सव २०१९ नामाकरण गरिएको यस कार्यक्रमको प्रमुख उद्धेश्य स्थानीय अस्ट्रेलियनहरूलाई बढीभन्दा बढी सहभागी बनाई नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने रहेको आयोजक सोलाङ्चरले जनाएको छ।
मेलवर्नको नर्थ कोवर्गस्थित चार्ल्स स्ट्रिटमा रहेको कोवर्ग भेलोड्रोममा म:म महोत्सवको आयोजना हुनेछ ।
यस पटकको मःम फेष्टमा तीसभन्दा बढी मःमका परिकारको स्वाद चाख्न पाइने आयोजकले जनाएको छ।
फेष्टिभलमा १५ वटा मःम स्टलहरू रहनेछन् भने कार्यक्रममा लाइभ म्युजिक, मल्टिकल्चरल प्रस्तुती, बालबालिकाका लागि मनोरञ्जन, मःम खाने कम्पिटिसन आदि जस्ता कार्यक्रमले मःम महोत्सवलाई रौनकतालाई दिनेछ।
आउने मार्च १७ तारिख आइतबार हुने महोत्सव दिउँसो दुई बजेबाट सुरू भइ बेलुकी १० बजेसम्म चल्नेछ।
सोलाङ्चरको आयोजनामा ‘मःम फेष्ट’ वार्षिक रूपमा सन् २०१७ बाट सुरूआत भएको हो।
कार्यक्रमको आयोजनाको पहिलो वर्ष नै १५ हजार बढी मानिसहरूको सहभागिता भएको थियो भने गत वर्ष यो संख्या बढेर २० हजार पुगेको थियो।
स्थानीयहरूको सहभागिताले उत्साहित यस वर्ष तीस हजार दर्शकको अपेक्षा राखेको आयोजक सोलाङ्चरले जनाएको छ। जसमा हालसम्म ८ हजारभन्दा बढीले प्रत्यक्ष सहभागिताको लागि रजिष्ट्रेसन गरिसकेका छन् भने १५ हजार बढीले सोसल मिडियामार्फत् सहभागिता हुने प्रतिवद्घता व्यक्त गरेका आयोजकले जनाएको छ।
कार्यक्रममा नि:शुल्क प्रवेश राखिएको छ भने सहभागिताका लागि रजिष्ट्रेसन गर्न सकिने छ।
स्थानीय तथा नेपाली संघसंस्थाको समेत सहभागितामा सञ्चालन हुने यस कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रियस्तरका सांगीतिक प्रस्तुती रहने छ ।