नेपालबाट उच्च अध्ययनका लागि अस्ट्रेलियाको मेलवर्नमा रहेकी निस्मा श्रेष्ठको सडक दुर्घटनामा मृत्यु भएको छ।
काभ्रे जिल्ला बनेपा घर भई हाल अध्ययनको शिलशिलामा नौ महिना अघि अस्ट्रेलिया आएर मेलवर्नस्थित ग्लेनरोयमा बसोबास गर्दै आएकी निष्माको गत हप्ता सडक दुर्घटना भएको थियो।
मेलवर्नमा रहेका लाट्रोब विश्वविद्यालयमा अध्ययनरत निष्मा काम सकेर राति करिब १ बजे घर फर्कदा बाटो काट्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियो। जसबाट उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनापश्चात गाडी चालकले नै प्रहरीलाई खबर गरी उनलाई अस्पताल लगेका थिए। उपचारकै क्रममा उनको चार तारिखका राति मृत्यु भएको थियो।
उनका आफन्तहरू भाइ र श्रीमान् ७ मार्चमा मेलवर्न आइपुगेपछि मात्र अस्पतालले यो दुर्घटनाका खबरलाई औपचारिक रूपमा जानकारी गराएको थियो।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा भिक्टोरियाका संयोजक केशव कँडेलले दुर्घटनाको खबर पाएदेखि आफूहरू अस्पतालको सम्पर्कमा रहेको बताए।
‘अस्ट्रेलियामा नेपालीहरू बाक्लिदै गर्दा यस्ता दुर्घटनामा पनि वृद्धि भइरहेको र यस्ता विषयमा विद्यार्थीहरू सचेत बन्नु पर्ने कँडेलले बताए।
कँडेलले भने, ‘सडकमा हिँड्दा, गाडी चलाउँदा या समुद्रमा पौडी खेल्दा आफूहरूले अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा चनाखो हुनु जरूरी छ। उज्वल भविष्य निर्माणमा विदेशिएका नेपाली विद्यार्थीले यसतर्फ चनाखो हुनु जरूरी देखेको छु। यो दुःखद घटनामा यहाँको नेपाली समुदाय शोक सन्तप्त परिवारको साथमा रहनेछ र सक्दो सहयोग गर्नेछ।’