प्रवासमा बसेर नेपाली चलचित्रसँग साइनो जोड्ने नेपाली युवाहरू खिलेन्द्रराज तिम्सिना, प्रजापति सिवाकोटी र मुकेश रेग्मीले मिस्टर भर्जिनपछि फेरि नयाँ कथानक चलचित्र ‘कागजपत्र’ बजारमा ल्याउने भएका छन्।
यही आउँंदो चैत ८ गते रिलिज मिति तय गरेर निर्माण गरिएको चलचित्रको हालै केही गीतले बजारमा लोकप्रियता समेत हात पारिसकेको छ। विदेश जाने रहरमा नक्कली कागज पत्र बनाएर अगाडि बढेको यो चलचित्र पछिल्लो परिस्थितिको एउटा वास्तविक कहानी पनि हो।
ठ्याक्कै अस्ट्रेलियामा नक्कली बिहेको कैयौं घटनाहरू आउँदै गर्दा बजारमा आउन लागेको कागज पत्रले नेपाली चलचित्रप्रेमीको मन जित्ने देखिएको छ। कागजपत्रको ट्रेलर समेत सार्वजनिक भैसकेको छ।
चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ।
इपी इजुकेशन अस्ट्रेलियाको प्रस्तुतिमा तयार भएको चलचित्रलाई अपिल विष्टले लेखन तथा निर्देशन गरेका हुन्।
सामाजिक कथामा तयार भएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक विष्टले बताए। निर्देशक विष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष बनेको छ।
अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएर बसेको कानुन व्यवसायी खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र शैक्षिक परामर्शदाता प्रजापति सिवाकोटीले चलचित्रमा लगानी गरेका हुन्।
चलचित्रमा बसन्त सापकोटातर्फ संगीत, क्यासिमिर डिक्शनको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ।
‘हामी विदेशमा रहे पनि नेपाली भाषा, संस्कृति र कलाबाट पर रहन सक्दैनौं। त्यसैले पनि हामीले यस क्षेत्रमा केही फरक चिज पस्कने प्रयास गरेका छौं’, निमार्तामध्येका एक प्रजापति सिवाकोटीले भने।
चलचित्रका अर्का लगानीकर्ता खिलेन्द्र तिम्सिनाले मिस्टर भर्जिनपछि नयाँ सोचका साथ कामजपत्र दर्शक स्रोतामाझ प्रस्तुत गर्न लागेको बताए।
‘हामी पहिलो चलचित्र बनाउँदा नौलो र पहिलो थियौं। अब त्यसले हामीलाई धेरै कुरा सिकाएको छ, हामी अब केही फरक र अलग विषयवस्तुका साथ चैतको पहिलो साता कागजपत्र लिएर बजारमा आउँदै छौं,’तिम्सिनाले भने।