ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन, संस्कृति तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना र पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा अस्ट्रेलियामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ।
प्रवासी नेपाली मञ्च अस्ट्रेलिया तथा जनप्रगतिशील मञ्च अस्ट्रेलियाको संयुक्त आयोजनामा सिड्नीको आयोजित श्रद्धान्जली सभामा वक्ताहरुले रविन्द्र अधिकारी र भरतमोहन अधिकारी देशका सच्चा नेता रहेको भन्दै उनीहरुको निधनले देशलाई ठूलो क्षति पुर्याएको बताए।
एनआरएनका ओसेनिया संयोजक धर्मराज अधिकारीले राजनीतिक आस्थाका आधारमा मात्र नभइ मुलुकको विकास र विस्तारका सवालमा पनि यी दुबै ब्यत्तित्व सबै नेपालीका प्यारा नेताका रूपमा रहेको सुनाए।
कार्यक्रममा अतिथि न्यू साउथ वेल्सका महावाणिज्यदूत दीपक खड्का, जनप्रगतिशील मञ्चका प्रमुख सल्लाहाकार शेषमणि शर्मा, प्रवासी नेपाली मन्चका अध्यक्ष रमेश पाण्डे, न्यु साउथ वेल्सका पर्यटनदूत बद्री अर्याल, ग्रानभिल नेपाली समाजका अध्यक्ष रमेश थापा, एनआरएनका पूर्वअध्यक्ष ध्रुव सुवेदी, हरिलाल लामिछाने लगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए।
साथै उनीहरुले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारी र स्व. उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको राजनीतिक तथा आर्थिक समृद्धिमा पुर्याएको योगदानका बारेमा चर्चा समेत गरेका थिए।
कार्यक्रममा नेपाल सरकारले हवाइ सुरक्षालाई चासोका साथ लिएर आवश्यक सुरक्षाका उपायहरू अपनाउन समेत अपील गरिएको छ।
त्यसैगरी पोखरा समाज अस्ट्रेलियाको आयोजनामा सोही दिन सिड्नीको कोग्रास्थित हग्वेन पार्कमा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो।
समाजका अध्यक्ष राजकुमार अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ, अतिथिहरू प्रवासी नेपाली मञ्चका अध्यक्ष रमेश पाण्डे, एनआरएनए आइसिसी सदस्य होम पाण्डे, एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अच्यूत थपलिया, सचिव देव गुरूङ, कोग्रा अभिभावक संघका प्रवीन मल्ल, भिएफएमका संरक्षण महेश प्रसाईलगायतका वक्ताको उपस्थिति थियो।
कार्यक्रममा सिड्नीवासी नेपालीहरूको उल्लेख्य उपस्थिति थियो।