गैर आवासीय नेपाली संघ (एनआरएन) यतिखेर ‘एक पटकको नेपाली सधैंको नेपाली’ अनि सबै हात एकै साथ अभियानमा होमिएको छ। एनआरएनको पहिलो माग दोहोरो नागरिकताको टुंगो लगभग लागिसकेको छ। विधि बनिसके पनि विधानका लागि कानुन बन्ने तयारीमा छ।
त्यती मात्र होइन, नेपाललाई संसारभर चिनाउने एउटा महत्वपूर्ण अभियानका रूपमा रहेको अतिथिदेवों भवः जस्ता पर्यटन प्रवर्धनका कार्यक्रमले संसारभर प्रश्रय पाइरहेका छन्।
मुलुकको पीडामा चसक्क बिझ्ने पहिलो जमातका रुपमा चिनिएको गैर आवसीय नेपालीको छाता संगठन यतिखेर आफ्ना समाजिक कार्यक्रममार्फत मुलुकको समृद्धि र अभिमुखिकरण कार्यक्रम अन्तर्गत संसारको कुनाकुनामा आफ्नो गर्विलो छाप छोड्न सफल भएको छ।
यसका पछिल्ला कार्य योजनाका रूपमा रहेको दोहोरो नागरिकता, आफ्नै घर र लाप्राक योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेको छ।
घर बनेर एनआरएन आफ्नै भवनमा सरिसकेको छ, नागरिकता सम्वन्धी बिधेयक संसद पुगिसकेको छ अनि लाप्राक अन्तिम चरणमा छ।
प्रतिकुल मौसम र अप्ठ्यारो पृष्ठभूमिमा रहेका लाप्राक एनआरएनका लागि साच्चीकै कठिन योजना थियो। भावना र संवेगमा बगेर हतारमा गरिएका कतिपय निर्णय फुर्सदमा गहिरिएर सोच्दा अत्यासलाग्ने पनि हुन्छन्। तर, यो हाम्रो ड्रिम पोजेक्ट थियो यसलाई पुरा गर्नु हाम्रो पहिलो दायित्व हो।
अहिले लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ। भूकम्प दिवसका अवसर पारेर हामी बनिसकेका सबैलाई घर हस्तान्तरण गर्ने योजनामा छौं। एनआरएनको एउटा सीपाहीको हैसियतले पछिल्लो कार्यकालमा भए गरेका सबै जिम्मेवारीको दायित्व मैले बोक्नैपर्छ।
त्यसका लागि नेतृत्वको कप्तानी सम्हालेका हैसियतले म तयार भइसकेको छु। हामीले मुलुक बनाउने योजनामा शंखमुल पार्क एउटा नमुनाका रूपमा स्थानीय सरकारलाई हस्तान्तरण गरिसकेका छौं।
हुन त संसारभर छरिएका गैर आवासीय नेपालीको यो छाता संगठनले सोचेको र बुनेका कतिपय योजना पुरा नभएका पनि हुन सक्छन्। तर, हामीले पछिल्ला दुई वर्षमा संसारभर घुमेर र राज्य समितिको सक्रियता बढाएर यसलाई प्रवासको विश्वासीलो संस्थाका रुपमा चिनाउन सफल भएका छौं।
लगानीका कुरामा होस वा सहयोगका बिषयमा हामीले संसारभर घुमेर धेरै काम गरिसकेका छौं र अब गर्न बाँकि पनि थुप्रै काम छन्। नागरिकता सम्वन्धी अन्तिम कानुनको घोषणा कुरेर हामी बसेका छौ।
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने हाम्रो मुल मुद्दा सोचे अनुसार अगाडि बढेको छ। सरकारको पहुँच नभएका संसारका कयैन कुनामा एनआरएन एउटा विश्वासिलो संस्था र निकायका रूपमा मान्य हुनु हाम्रा लागि गौरवको विषय पनि हो।
पछिल्ला अनेकन बाधा र अड्चनका बिचमा पनि अध्यक्षको हैसियतले संसारका कुनाकुना पुगेर एनआरएनको गतिविधि र उद्धेस्य प्राप्तिका लागि मैले दिनरात नभनी सक्दो काम गरको जस्तो लाग्छ।
अहिले धेरै कुरा नभनौं तर, आवश्यक पर्दा म सधै एनआरएनका लागि सिपाहीका रूपमा सहयोग गर्न र नेतृत्व बोक्न तयार छु। यसको मतलब म अहिले नै चुनावमा जान्छु भनेको होइन तर कयैन यस्ता विषयहरू छन् जसलाई टुंगोमा पुर्याउनु मेरो कर्तब्य हो।
सकेसम्म यही कार्यकालमा सबै चुरो कुरो टुंग्याएर पदीय दायित्ववाट विश्राम लिने सोच थियो तर काम र जोडिएको नामले अहिलेनै भन्न सकिने अवस्था रहेन।
चुनावी माहौल तात्दै गर्दा अध्यक्ष भवन भट्टले आफ्नो उमेदबारी घोषणा भने गरेनन्। तर, घुमाउरो भाषामा दुई वर्ष भित्र यसका केही महत्वपूर्ण कामलाई टुंगोमा पुर्याउन नसकेको हो की भन्ने आसय राखे।
भट्टले अगाडि भने, ‘हेरौं अहिलेनै यसो भनिहाल्ने बेला आएको छैन। काम गर्दै जाउँ, सोचेका र बोलेका कुरा पुरा भए साथीहरुलाई सहयोग गरौला। सकिएन भने साथीहरुकै आग्रहमा केही सोच्न सकिन्छ।