अस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले १० औं वार्षिकोत्सवका अवसरमा भव्य रूपमा होली पर्व (फागु) मनाएको छ।
‘एन्टा १० औं वार्षिकोत्सवसँग ‘होली हंगामा’ नामक साँस्कृतिक कार्यक्रमको आयोजनाका गर्दै सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा होली पर्व हर्षोंल्लासका साथ रङ, अविर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ।
अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थितिमा विभिन्न भाषा भाषिका मनोरञ्जनात्मक कार्यक्रम समेत रङको टिकामार्फत् शुभकामना साटासाट गरेर होली पर्व सबै नेपालीको साझा पर्व भएको सन्देश दिइएको थियो।
कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो। साथसाथै स्थानीय कलाकारहरूको वेजोड प्रस्तुति रहेको थियो।
नेपालबाट रमेशराज भट्टराई, डोली सरकार र सुनील पण्डितजस्ता होलीका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रम नेपाली, मैथिली, भोजपुरी र अंग्रेजीमा सञ्चालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी र नेपाली भाषाका शब्दहरूमा गीत संगीत प्रस्तुति दिएका थिए।
कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सव भएकोले विदेशमा आएर पनि रङको पर्वमा रंगीन पाउँदा हर्षित भएको सुनाए।
कार्यक्रमको प्रमुख अतिथि न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले रङको पर्व होली सबै नेपालीको पर्व रहेको सुनाए।
कार्यक्रममा एन्टाका उपाध्यक्ष रञ्जित शाहले स्वागत मन्तव्य गर्दै हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सव गरेको सुनाए। मुख्य प्रायोजककोतर्फबाट युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबट सनत गुप्ताले एन्टालाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय रहेको बताए। एन्टाका सचिव तुलसी शाहले सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियामा रहेका सबैखाले संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।