नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजना पश्चिम सिड्नीमा नेपालीहरूको अगुवाइमा सिड्नीको ग्रानभिलमा भव्यरूपमा अस्ट्रेलियन बहुसाँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
शनिबार दिनभर चलेको यो बहुसाँस्कृतिक कार्यक्रमका लागि स्थानीय कम्बरल्याण्ड काउन्सिलले आर्थिक तथा नैतिक सहयोग गरेको छ।
कार्यक्रममा स्थानीय लेबर पार्टीकी राज्य सांसद जुलिया फीन, फेडरल सांसद जुलिय ओवन, स्थानीय कम्बरल्यान्ड काउन्सिलका मेयर ग्रेग कुमिन्स लगायत काउन्सिलरहरूको बाक्लो उपस्थिति रहेको थियो।
सहभागीहरूले अस्ट्रेलियाजस्तो बहुसाँस्कृतिक समाजमा सबैले आआफ्नो कला,साहित्य र संस्कृतिको जर्गेना गर्नु र एक अर्काप्रति सम्मान राख्नु यसको महत्वपूर्ण पक्ष रहेको बताए।
लेबर पार्टीकी फेडरल सांसद जलिया आवेन, राज्य सांसद जुलि फीन, कम्बरल्यान्ड काउन्सिलका मेयर ग्रेग कुमिन्सलगायत आधा दर्जन काउन्सिलरहरूले ब्रेकफास्टमा सेलरोटीको स्वाद लिए भने नेपाली कला संस्कृतिमा करिब तीन घन्टा रमाएका थिए। सिड्नीवासी नेपाली समुदायको लागि यो महत्वपूर्ण पक्ष बनेको थियो।
कार्यक्रममा विशेषगरी नेपाली बहुभाषिक तथा बहुजातीय पहिरन, नाचगान तथा संगीतको प्रस्तुति रहेको थियो। जसमा जिना केसीको कुमारी नाच, अनिता नेपालको गणेश स्तुती, सन्जिव, रोमी र रोसिकाको देउडा नाच, मनोरमा चौधरीको टोलीले प्रस्तुत गरेको थारु नाचसँगै अस्ट्रेलियाको परम्परागत गीत तथा चिनियाँ नृत्य कार्यक्रमको आकर्षण बनेको थियो।
पश्चिम सिड्नीको बाक्लो नेपाली बस्ती भएको ग्रानभिल इलाकाको टाउनहलमा भव्य रूपमा सम्पन्न कार्यक्रममा सिड्नीका सबैखाले संघसंस्थाको प्रतिनिधित्व रहेको थियो।
कार्यक्रम संयोजक जानकी पौडेलले यहाँका राजनीतिज्ञसहित काउन्सिलका मेयर र काउन्सिलरहरूको सहभागितामा मुलुकको कला,साहित्य र संस्कृतिको पहिचान र प्रवर्द्धन गर्न पाउनु महत्वपूर्ण विषय भएको बताइन्।
नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता केसीका अनुसार नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्झनामा प्रत्येक वर्ष कार्यक्रम गरिँदै आए पनि यो वर्ष प्रतिष्ठानले बहुसाँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो।
नेपाली समुदायको सहयोग र सद्भावले कार्यक्रम सफल भएको भन्दै संस्थाकी अध्यक्ष केसीले सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा विशेष अतिथि बनेका एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले विदेशका बसेर पनि मुलुकको कला संस्कृतिको जर्गेना गर्नु महत्वपूर्ण विषय भएकोले प्रतिष्ठान धन्यवादको पात्र रहेको जिकिर गरे।
संयोजक अधिकारीले बहुसांस्कृतिक समाज अस्ट्रेलियाको सौन्दर्य रहेको चर्चा गर्दै भने, ‘एकले अर्काको सम्मान गर्ने परम्परा र सद्भाव बाँड्ने संस्कृतिले नै अस्ट्रेलियाको महत्व बढाएको छ। कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत दीपक खड्काले अस्ट्रेलियामा नेपाली समाजको विस्तार हुँदै जाँदा हाम्रो परम्परा र कला संस्कृतिको पनि महत्व बढेको बताए।
कार्यक्रममा नेपाली समुदायका अगुवाहरू इन्द्रा वन, शम्सेरसिंह थापा, गोवा कटुवाल, दिनेश जोशी, प्रेम सापकोटा, ध्रुव सुवेदी, दिनेश पोखरेल, नन्द गुरुङ, स्वतन्त्र प्रताप शाहलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतिष्ठानकी महासचिव दिलु केसी र सचिव संगिता बस्नेत र कोषाध्यक्ष सिमा रोसीले अतिथिहरूलाई खादा लगाएर सम्मान गरेका थिए।