नेपालको संविधानमा प्रष्टसँग गैर आवासीय नेपाली नागरिकताको व्यवस्था भएकोले - यस सम्बन्ध अन्यथा हुन सक्दैन, हुँदैन, परिवर्तन गर्न वर्तमान संविधान नै संशोधन गर्नुपर्ने हुन्छ।
गैर आवासीय नेपाली संघको स्थापना कालदेखिको माग भनेको ‘एक पटक को नेपाली- सँधैको नेपाली’ मात्रै थियो, हो र कायम छ। यही परिप्रेक्षमा गैर आवासीय नेपाली संघले दोहोरो नागरिकताको माग राखेको थियो तर नेपाल सरकारले उक्त आसयलाई यथोचित सम्वोधन गरि ‘गैर आवासीय नेपाली नागरिकता’ को प्रावधान राखेको छ!’
हाल नेपालमा पाँच प्रकारका नागरिकता दिन सकिने प्रावधान छ
१) जन्मसिद्ध
२) वंशज
३) अंगिकृत
४) गैरआवासीय नेपाली नागरिकता
५) मानार्थ नागरिकता (विदेशी नागरिकलाई सम्मानार्थ मात्रै)
नेपालको वर्तमान संविधानको भाग २ मा भएको गैरआवासीय नेपाली नागरिकता सम्वन्धि प्रष्ट व्यवस्था-
‘गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने- विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको (सार्क राष्ट्र) सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशज वा जन्मको आधारमा निज वा निजको बाबु, आम वा बाजे (हजुर बा) बज्यै (हजुरआमा) नेपालको नागरिक रहेपछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार (राजनीतिक अधिकारबाहेक) उपभोग गर्न पाउने गरि नेपालको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने छ।’
अहिले संसदको र संसदीय समितिमा भइरहेको छलफलले गैर आवासीय नेपाली नागरिकताको नियमनका बारेमा चुस्त, दुरूस्त र सम्पूर्ण रूपमा नेपाल र नेपालीको हितमा कसरी काम गर्न सकिन्छ साथै यस नागरिकताको नियमन तथा व्यवस्थापनका बारेमा घनिभूत छलफल चलेको मात्रै हो।
संसदीय समितिमा चलेको अर्को महत्वपूर्ण छलफल - यदि कोही कसैले कानुनभन्दा बाहिर गएर एकै समयमा विदेश रहँदा बस्दा विदेशी नागरिकताको सेवा सुविधा र नेपाल रहँदा नेपाली नागरिकको रुपमा सेवा सुविधाको उपयोग गरेको पाइएमा के कसरी नियमन गर्ने भन्ने हो यो सकारात्मक र राम्रो कुरा हो नियमन हुनु पर्छ।
केही मिडियामा आएजस्तै दोहोरो नागरिकता खारेज, गैर आवासीय नेपालीको हक अधिकार खारेज भन्ने अपूर्ण, त्रूटिपूर्ण समाचारबाट विचलित नहुनू होला- सम्बन्धित व्यक्तिको व्यक्तिगत परिस्थिति, अवस्था र कानुनी प्रावधानका बारेमा भने नितान्त व्यक्तिगत कानुनी परामर्शसहित आफ्ना आवश्यक निर्णय गर्नु हुन सादर अनुरोध गर्दछु।
लेखक अस्ट्रेलियामा लेखा, वित्त तथा बैकिङ क्षेत्रका युवा व्यवसायी तथा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका प्रवक्तासमेत हुन्।