नेपाल अस्ट्रेलियन युथ एशोसिएसन (नयाँ) ले हरेक वर्ष परोपकारी कामका लागि आयोजना हुने ‘नयाँ क्रूज पार्टी’ यस पटक आउँदो मार्च २३ शनिबार हुने भएको हो।
अस्ट्रेलियाका युवा जमातलाई नेतृत्व गर्दै अगाडि बढेको नयाँले यस पटक ‘सामाजिक सदभाव र युवालाई सचेतना’ भन्ने मुल नाराका साथ सहयोगी क्रूज अभियानलाई निरन्तरता दिएको हो।
प्रवासमा आपसी भाइचारा कायम गर्दै खेलकुदको माध्यमवाट मुलुक चिनाउने लक्ष्यका साथ सामाजिक सहयोग गर्न क्रूज पार्टी आयोजना गरिएको नयाँका अध्यक्ष प्रकाश खरेलले जानकारी दिए।
खरेलले २१ औं शताप्दीको खेलकुद पर्यटनको आधार पनि बनिसकेको अवस्थामा यस पटक हाम्रो खेलकुद र सामाजिक कार्यलाई सहयोग पुर्याउने क्रूज पार्टीको मुख्य उद्धेस्य रहेको बताए।
यसअघि नयाँले नेपालको शिक्षा र स्वास्थ्यमा सहयोग गर्न क्रूज पार्टीबाट उठेको रकम खर्चिएको थियो ।
नयाँको यो अभियानलाई यसपटक सीड्नीको ग्लोबल कन्सल्ट, इन्द्रेणी फङ्सन सेन्टर, इन्द्रेणी क्याफे लगायतले सहकार्य गरेका छन्।
ग्लोबल कन्सल्टका निर्देशक दीपक क्षेत्रीले युवाहरुको लोकप्रीय संस्थाले सामाजिक अभिप्रायले आयोजना गरिएको क्रूज पार्टीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
अर्का प्रायोजक सीड्नीको चर्चित कार्यक्रमस्थल इन्द्रेणी फङसन सेन्टरका प्रमुख लक्ष्मण सापकोटाले कार्यक्रमको उद्धेस्य र महत्व फरक भएकाले पनि यस्ता क्रूज पार्टीहरुले समाजलाई जोड्ने काम गरेको बताए। ‘हाम्रो उद्धेस्य प्रष्ट छ, यस कार्यक्रमबाट उठेको रकम युवाहरुको शिपमुलक तालिमलगायत समाजिक कार्यक्रममा खर्चने हो, त्यसैले पनि अस्ट्रेलियामा नयाँले आयोजना गरेको कार्यक्रमलाई सबैले माया गरिदिनुभएको छ’, अध्यक्ष प्रकाश खरेलले भने।
सीड्नीका युवाहरुको लोकप्रीय संस्था नयाँले यसअघि कोमल पाठकको नेतृत्वमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खडकालाई अस्ट्रेलिया बोलाएर सहयोग र सम्मान समेत गरेको थियो ।