गैर आवासीय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा आगामी मे महिनाको ११ र १२ तारिख सिडनीमा एनआरएन ओसेनिया क्षेत्रीय सम्मेलन हुने भएको छ।
एनआरएनको नियमित कार्यक्रम अनुसार ओसेनिया क्षेत्रको आयोजनामा क्षेत्रीय सम्मेलन सिड्नीको हायात रीजेन्सी होटलमा हुन लागेको हो।
संसारभर फैलिएका गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलनमा करिब २० राष्ट्रबाट तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता हुने एनआरएन ओसेनियाका संयोजक धर्मराज अधिकारीले जानकारी दिए।
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मुल मन्त्रका साथ आयोजना हुने क्षेत्रीय सम्मेलनमा एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसीलगायतका पदाधिकारीको सहभागिता रहने अधिकारीले सुनाए।
यस्तै सम्मेलनका लागि नेपालबाट राजनीतिक दलका नेता तथा बहालवाला मन्त्रीलाई समेत निमन्त्रणा गरिएको छ भने स्थानीय अस्ट्रेलियाका राजनीतिक दलका नेताहरुको समेत सहभागिता रहने छ ।
‘समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ भन्ने नाराका सात लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको शिप र ज्ञानलाई मुलुकमा पुरर्याउने अभियान अन्तर्गत यो क्षेत्रीय सम्मेलन आयोजना गरिएको संयोजक अधिकारीले सुनाए।
‘अतिथि देबो भवः र एकै हात सबै साथ भन्ने एनआरएनको मुल नारालाई बोकेर यसपटक क्षेत्रीय सम्मेलनमा भ्रमण वर्ष २०२० लाई सफल बनाउन यस क्षेत्रले खेल्नुपर्ने भूमिकाको विषयमा समेत चर्चा गरिने आयोजक आइसीसी सदस्य होम पाण्डेले बताए।
यसका लागि एनआरएन अस्ट्रेलिया र योसँग जोडिएका सबै पक्षलाई अगाडि लिएर हिँड्ने योजनाको तर्जुमा गर्न सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका उनले सुनाए।
क्षेत्रीय सम्मेलनमा बिभिन्न देशबाट आएका प्रतिनिधि तथा विशेषज्ञता हासिल गरेका साथीको कार्यपत्र समेत रहनेछ।
सम्मेलनको पहिलो दिन बिहानदेखि बेलुकासम्म लगानी, पर्यटन प्रर्वधन अनि बिदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकासमा कसरी लान सकिन्छ भन्ने बिषयमा छलफल र अन्तर्क्रिया चल्ने र दोस्रो दिन कार्यक्रमको समापन र सीड्नी घोषणापत्र सार्वजनिक गरी अतिथिलाई सीड्नी भ्रमणको ब्यवस्था गरिएको आयोजकमध्येका एक आइसीसी सदस्य दिनेशराज जोशीले बताए।
कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष नन्द गुरुङले एनआरएनका बिभिन्न तह र निकायविचको आपसी सम्वन्ध स्पष्ट नभएका कराण कतिपय काममा तालमेल नमिलेको बताउँदै यस सम्मेलनलाई सफल बनाउन आफूहरू लागिपर्ने बताए।
कार्यक्रममा नेपाली समाजका अगुवा भवानी ओलीले यो क्षेत्रीय सम्मेलन सबै नेपालीहरुको प्रतिष्ठाको बिषय भएकोले मेरो र तेरो नभइ सबैको सहयोग र सदभावको आवश्यकता रहेको बताए।
ओलीले संसारभरका प्रतिनिधि अस्ट्रेलिया आउने र मुलुकको विकास र विस्तारमा बहस चलाउँदै गर्दा अस्ट्रेलियाको नेपाली समाजले यसलाई महत्वपूर्ण पाटोको रुपमा लिनुपर्ने सुनाए।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य दीपक भट्टराई, उषा बारिया पोखरेल, बबिता श्रेष्ठलगायतको टिमको अथक प्रयासमा कार्यक्रमलाई भब्य र सभ्य बनाउन बिभिन्न समिति बनेको छ।
कार्यक्रममा एनआरएनका सचिव देब गुरूङ, एनआरएनकी संरक्षक इन्द्रा वन, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, एनआरएनका आईसीसीका पूर्व युवा संयोजक विजय पोखरेल, आइसीसीका खेलकुद संयोजक राजु मानन्धर, ओसेनिया खेलकुद संयोजक भुपाल सिटौला, एनआरएनका सदस्य अजय राजवंशी, नयाँका अध्यक्ष प्रकाश खरेल, युवा अभियन्ता कोमल पाठक, सुदूरपश्चिम समाजका अध्यक्ष दिपक जोशी, एनएडीएफका उपाध्यक्ष पुर्णनाथ घिमिरे र सुरेन्द्र सापकोटा ,एनआरएन आइसीसी मिडिया कमिटीका सदस्य डिल्ली ढकाललगायतको उपस्थिति थियो।