गैरआवासीय नेपाली संघको टोलीले आगामी आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने पक्का भएको छ।
सात प्रदेश, तीन विभागीयसँगै गैरआवासीय नेपाली खेलाडीको एघार टोली राष्ट्रिय खेलकुदमा सहभागी हुने भएका हुन्।
गैरआवासीय नेपाली संघले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरी सहभागी हुने गैरआवासीय नेपाली टोलीको व्यवस्थापन गर्ने जिम्मेवारी लिएको हो।
‘संसारभर छरिएका नेपाली खेलाडीहरू राष्ट्रियस्तरको खेलकुदको महाकुम्भ ‘आठौं राष्ट्रिय खेलकुद’ मा सहभागी हुन पाउँदा ज्यादै उत्साही भएका छन्, पहिलो प्रयासमा भए पनि केही पदक हात पार्ने योजना बुनेका छौं’, एनआरएनका केन्द्रीय अध्यक्ष भवन भट्टले भने।
गैरआवासीय नेपाली संघ नेपालमा पछि परेका र प्रविधिमैत्री हुन नसकेका खेल क्षेत्रहरूको पहिचान गरी तिनीहरूको विकासमा साझेदार बन्न चाहेको अध्यक्ष भट्टले बताए।
गैरआवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै संस्थागत संरचनाभित्र युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै आएको उनले जानकारी दिए।
इतिहासमै पहिलो पटक राष्ट्रिय खेलकुद परिषदको सहयोगमा प्रवासी नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुदमा सहभागी हुन पाएकोमा भट्टले खुसी साटे।
कार्यक्रममा अध्यक्ष भट्टले एनआरएन टोलीलाई जर्सी समेत हस्तान्तरण गरेका थिए।
विदेशमा रहेका नेपालीहरूको साझा संगठनका रूपमा रहेको गैरआवासीय नेपाली संघसँग राष्ट्रिय खेलकुद परिषदसँग खेलकुद क्षेत्रको विकासमा साझेदारी गर्ने उद्देश्य राखी सम्झौता समेत गरिसकेको छ।
सो सम्झौता बमोजिम गैरआवासीय नेपाली खेलाडीहरूको हिस्सेदारी गैरआवासीय नेपाली संघले सुनिश्चित गर्ने र आगामी दिनहरूमा गैरआवासीय नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुदमा सहभागी हुने बाटो खोल्ने सहमति भएको छ।
आगामी आठौं राष्ट्रिय खेलकुदमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएइ, मकाउ, जापान र हङकङ गरी ७ मुलुकबाट कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिंग गरी नौ खेलमा कुल २४ खेलाडी यस पटक राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदैछन्।
‘विदेशमा रहेका खेलाडी, प्रशिक्षक र रेफ्रीहरूले त्यहाँ पेशा व्यवसायसँगै आधुनिक समयमा विकास गरिएका खेलका विधि, प्रविधि र व्यवस्थालाई समेत नजिकबाट नियाल्ने र अनुभव गर्ने अवसर पाएका हुन्छन्,यसले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपाल भित्र्याएझै खेलकुदको विकासमा टेवा पुग्ने छ’, एनआरएन खेलकुद समिति नेपालका संयोजक स्वयंम्भु डंगोलले भने ।
आगामी दिनमा संसारभर रहेका गैरआवासीय नेपाली खेलाडी, प्रशिक्षक र रेफ्रीहरू समेटी स्रोत साधनले सम्पन्न गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान विकास गर्ने सम्बन्धमा छलफल भैरहेको एनआरएन आइसीसी खेलकुद समितिका संयोजक राजु मानन्धरले बताए ।