घरभित्र र पार्कमा रमेका सिड्नीका नेपाली अभिभावकहरू आज न्यू साउथवेल्सको रमणीय क्षेत्र फिट्जोरी फल्समा सामूहिक वनभोजमा मस्त देखिए।
नेपाली पहिरन, नेपाली भाका अनि नेपालीपनको बेजोड संगम बनेको अभिभावक वनभोजमा करिब सात सय अभिभावकहरू दिनभर अस्ट्रेलियालाई बिर्सदै नेपालीपनमा रमाएका थिए।
नाचगान अनि कविता र गजलमा रमेका अभिभावकहरू एक आपसमा परिचय र गामबेसीका भाकामा रमेका थिए।
‘आफ्नै गाउँ, अनि ठाउँमा आएजस्तो लाग्यो, यतिका नेपाली एकै ठाउँमा भेट्दा हर्षको सीमा रहेन’, ताप्लेजुङ त्रिवेणी गाउँपालिका निवासी नरहरी प्रसाईंले भने।
सात समुन्द्र पारी विदेशमा आएर पुराना साथीभाइ भेट्न पाउनु अनि नेपालमाझै रमाउन पाउनु सबभन्दा महत्वपूर्ण विषय रहेको ८२ वर्षीय प्रसाइले बताए।
‘विदेशको हावापानी र यहाँको माटोमा नेपालीपनको आभास आफैंमा महत्वपूर्ण हो अनि सात सय अभिभावकहरू एकै स्थानमा भेला हुँदा न्यु साउथ वेल्सका फिट्जोरी फल्सनै नेपालमय भएको थियो’, प्रसाईंले भने।
सन्तान भेट्न र घुमघामका लागि नेपालबाट अस्ट्रेलिया आएर सिड्नी वरपर रहेका अभिभावकहरूको सम्मानमा एनआरएनए अस्ट्रेलिया न्यू साउथ वेल्स समितिले एक दिने वनभोज कायर्क्रम आयोजना गरेको हो।
विगतका वर्षदेखि निक्कै लोकप्रिय बनेको अभिभावक वनभोजलाई एनरआरएनले भने आफ्नो नियमित कार्यक्रमका रूपमा राखेको छ।
ठूलो संख्यामा अभिभावक सहभागी हुने अनि घुमघामसहितको वनभोज कार्यक्रमलाई यस पटक अझ विस्तारित अनि धेरै ठाउँबाट पिकअपको व्यवस्था गरिएको कारण पनि विशाल सहभागिता भएको एनआरएन एनएसडब्लुका संयोजक नन्द गुरुङले बताए।
गुरुङले सिड्नीसँगै क्यानबेरा समेतबाट अभिभावक र एनआरएनका साथीहरूको सहभागिता रहेको सुनाए।
सिड्नीबाट करिब डेढ सय किलोमिटरको दूरीमा रहेको फिट्जोरी फल्समा एनआरएनले मनोरञ्जनात्मक कार्यक्रमसहित खानपिनको व्यवस्था समेत गरेको थियो।
‘हामीले सोचेको भन्दा बढी संख्यामा र कतिपय अभिभावकहरू आफ्नै गाडीमा समेत पिकनिकमा आउनुभयो, यो एनआरएनको लागि खुसीको विषय हो,’एनआरएन एनएसडब्लुका उप-संयोजक अर्जुन केसीले भने।