गैर आवासीय नेपाली संघ(एनआरएन) अस्ट्रेलियाको आकस्मिक बैठकले बारा, पर्सा लगायतका तराईका जिल्लामा आएको प्राकृतिक प्रकोपमा पीडितहरूको सहयोगका लागि ४ हजार अस्ट्रेलियन डलर सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
यो सहयोग अन्तर्गत एनआरएन आइसीसीको आपतकालीन राहत कोषमा ३ हजार डलर जम्मा गरिने भएको छ भने एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलियालाई एक हजार डलर उपलब्ध गराउने निर्णय भएको संस्थाका प्रवक्ता डिला खरेलले बताए।
एनआरएन अस्ट्रेलियाले मुलुकमा आइपरेको विपत्तिको दु:खद परिस्थितिप्रति दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
एनआरएन अस्ट्रेलियाले एनआरएन केन्द्रको आपतकालीन राहत कोषमार्फत् गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आग्रहमा तीन हजार डलर आर्थिक सहयोग गर्ने भएको छ।
अस्ट्रेलियामा रहेको नेपालका तराई क्षेत्रका नेपालीहरूको प्रतिनिधिमूलक संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया(एन्टा) लाई संस्थाको आपतकालीन राहत कोषमार्फत् तराईको बारा र पर्सामा भएको प्राकृतिक प्रकोपमा सहयोगका लागि एक हजार डलर आर्थिक सहयोग गर्ने भएको छ।
यस्तै एनआरएन अस्ट्रेलियालाई अस्ट्रेलियास्थित थारु सोसाइटी अफ अस्ट्रेलियाको अनुरोध भएबमोजिम नेपाल प्रदेश नम्वर ३ खैरहनी नगरपालिका चितवन स्थायी घर भई हाल साउदी अरबमा ड्राइभरका रूपमा कार्यरत जलेश्वर चौधरीको जीवनरक्षार्थ ब्लड मनि आवश्यक परेकोले संस्थाको आपतकालीन राहत कोषमार्फत् एक हजार डलर सहयोग गर्ने निर्णय समेत गरेको छ।
यसैगरी, सिड्नीमा रहेको एन्टाले पनि बारा र पर्सामा राहत कार्य सुरू गरिसकेको यसका अध्यक्ष अरुण कुमार ठाँकुरले बताए। एन्टाले प्रारम्भमै मुलुकमा आइपरेको विपतसँग जुध्न एउटा राहत कोष खडा गरेर सहयोग संकलन सुरू गरेको थियो।