सिड्नीबाट अल्बुरी गइरहेको नेपाली विद्यार्थी सवार कार दुर्घटनामा गम्भीर चोट लागेका काभ्रेका बलराम पराजुलीको पनि क्यानबेरा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नेपाली राजदूतावासले जनाएको छ ।
सोही दुर्घटनामा नेपाली विद्यार्थी आर्यन आचार्यको घटनास्थलमा मृत्यु भएको थियो भने तीन जना अन्य नेपाली घाइते भएका थिए।
ह्युम हाइवेको मुलेनग्रान्ड्रा भन्ने ठाउँमा तीव्र गतिमा गुडेका गाडी रूखमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।
प्रहरीले दुर्घटना भएको केही समयमै उद्धार गरे पनि कारका चालक बलराम र अगाडि सिटमा बसेको आर्यन गम्भीर घाइते भएका थिए। आर्यनको घटनास्थलमै निधन भए पनि बलरामलाई भने हेलिकप्टरबाट क्यानबेरा अस्पिटल ल्याएर उपचार गरिएको थियो । तर दुई दिनसम्म भ्यान्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ।
यस्तै, कारको पछिल्लो सिटमा बस्ने तीनजना अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको भने स्थानीय हस्पिटलमै उपचार भइरहेको छ। उनीहरू खतरामुक्त रहेका अस्पतालले जनाएको छ।
नेपाली राजदूतावासकी कार्यकारी राजदूत द्रुपदा सापकोटाले विद्यार्थीहरूलाई आफ्नो पढाइमा ध्यान दिन र सुरक्षित रहन आग्रह गरेकी छिन्।
फिगर एटमा लास भेटियो
यसैबीच सिड्नी नजिकै रहेको फिगर एट पुलमा एक व्यक्तिको शव भेटिएको छ ।
रोयल नेशनल पार्क नजिकैको समुन्द्री तटमा रहेको अंग्रेजी आठ आकारको पोखरीभन्दा ८ सय मिटर पर शव भेटिएको एनएसडब्लु प्रहरीले जनाएको छ ।
पैदलयात्रीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। भेटिएको शव डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थीको हुनसक्ने प्रहरीको अनुमान छ।
यद्यपी शवको सनाखत भने हुन बाँकी छ ।
गत फेव्रवरी २५ मा घुम्न गएका एक नेपाली विद्यार्थी समुन्द्रको छालसंगै पोखरी नजिकै खसेर वेपत्ता भएका थिए । प्रहरीले केही दिनसम्महवाई, जल र पैदल हिडेर खोजी गरेपनि भेटिएको थिएन