गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले दोस्रो उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ।
सम्मेलनको सम्पूर्ण तयारी तिव्र गतिमा अघि बढाईएको सम्मेलनका संयोजक एवं एनआरएनए अष्ट्रेलियाका प्रवक्ता डिला खरेलले जानकारी दिए।
सम्मेलनलाई सफल बनाउन अस्ट्रेलिया नेपाल विजनेश काउन्सिलले सह–आयोजकको रुपमा सहयोग गरेको संयोजक खरेलले बताए। यस्तै नेपाली राजदूतावास क्यानवेरा, महावाणिज्य दूतावासको कार्यालयले सहयोगीको रुपमा साथ दिएका छन्।
उद्यमी सम्मेलन आउँदो वैशाख १४ गते (अप्रिल २७) मा हुँदैछ। एक दिने सम्मेलनमा देशविदेशबाट ३ सय युवा उद्यमीहरु सहभागि हुने संयोजक खरेलले जानकारी दिए।
यस सम्मेलनले नेपालमा लगानी गर्ने वातावरणमा सघाउ पुग्ने र स्वदेशमै लगानी गरौं भन्ने भावनालाई प्रोत्साहन गर्ने खरेलको भनाई छ। एक दिने सम्मेलन बिहानदेखि बेलुकासम्म चल्ने छ ।
कार्यक्रममा प्रवासमा रहँदा आफू बसेको देशमा पनि कुन–कुन क्षेत्रमा के–कसरी लगानी गरी व्यवसाय र उद्यम गर्न सकिन्छ भनेर अष्ट्रेलियास्थित विभिन्न विज्ञहरूको कार्यपत्र समेत रहने एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषद्का स्किल नलेज तथा इनोभेसन का प्रमुख, वैज्ञानिक डा. राजु अधिकारीले बताए।
कार्यपत्र चयनका लागि अधिकारीले लामो समयदेखि गृहकार्य समेत गरिएको र सम्मेलन उपलब्धीमुलक रहने ठोकुवा गरे ।