एनआरएन साउथ अस्ट्रेलियाको आयोजनामा आगामी अप्रिल १४ तारिख आइतबार एडिलेड सहरमा ‘नेपाल महोत्सव’को आयोजना हुने भएको छ।
महोत्सवमा १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको एनआरएन साउथ अस्ट्रेलियाले जनाएको छ।
यस पटकका नेपाल फेष्टिभलको साँस्कृतिक परेडमा पञ्चेबाजा घन्किने पनि आयोजकले जानकारी दिएको छ।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष एवं नेपाल फेष्टिभलका संयोजक अशोक केसीले प्रायोजकहरूलाई धन्यवाद दिँदै उनीहरूको साथबिना महोत्सव सम्भव नहुने धारणा राखे।
केसीले नेपालको पर्यटन प्रवर्द्धन गर्नु महोत्सवको मूल उद्धेश्य रहेको समेत बताए।
स्थानीय नेपाली समुदायका संघ संस्थासँगको सहकार्यमा आयोजना हुन लागेको सो महोत्सवमा सबैलाई सहभागी हुन आह्वान गरिएको छ।
यस्तै, प्रमुख प्रायोजकमध्येको एक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज एडिलेडको तर्फबाट रुपक बर्तौलाले महोत्सवमा सहभागी हुन पाउनु खुसीको कुरा रहेको बताए। उनले नेपाल फेष्टिभल नेपालीको पहिचान स्थापित गर्न महत्वपूर्ण अवसर भएको बताए ।
नेपाल महोत्सवमा मिष्टर एण्ड मिस नेपाल साउथ अस्ट्रेलिया समेत घोषित हुनेछन् ।