एडीलेडको पर्यटकीय क्षेत्र लाईट स्क्वायरमा नेपाल महोत्सव भब्य र सभ्य रुपमा सुरू भएको छ।
गैर आवासीय नेपाली संघ अस्ट्रेलिया साउथ अस्ट्रेलिया राज्य समितिको र अन्य स्थानीय संघ संस्थाको सहकार्यमा महोत्सवको आयोजना भएको हो।
एनआरएन अस्ट्रेलियाको गतिलो ट्रेड मार्क बनेको नेपाल महोत्सव नेपाली कला संस्कृतिसँगै मुलुकको पर्यटन प्रवर्धनका लागि महत्वपूर्ण मानिन्छ। यस्ता महोत्सवले देशको पर्यटन प्रर्वधनमासमेत ठूलो महत्व बोकेको एनआरएनका अध्यक्ष टोनु गोथानेले बताए।
नेपाल फेष्टिभलले ‘वन कन्ट्री, मेनी स्टोरीज्’ नामक नारा रहेको कार्यक्रममा लीबरल सांसद राचलस्यान्डरसनले बधाई दिँदै नयाँ वर्षको शुभकामना प्रदान गरिन्। आइसीसी ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले मुलुक चिनाउने मेलाका रूपमा महोत्सवहरू महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा नेपालबाट बद्री पंगेनी, जीवन शर्मा र कर्ण दासजस्ता लोकप्रिय कलाकारको प्रस्तुति रहेको थियो। करिब तीन हजार नेपाली दर्शक र अस्ट्रेलियनकोसमेत बाक्लो सहभागिता रहेको महोत्सव बिहानदेखि राति अबेरसम्म चलेको थियो।
‘हामीले मुलुकको पहिचान झल्काउने सबै खाले सामाग्री राखेर देशको झझल्को मेटाउने र बिदेशीलाई नेपाल चिनाउने अभियानका साथ नेपाल हाउसको ब्यवस्थापन गरेको आयोजक एनआरएनका सदस्य नवीन पन्तले बताए।
सन् २००६ देखि सुरू गरिएको नेपाल महोत्सवको यो सातौं संस्करण हो। नेपाल र नेपालीलाई अस्ट्रेलियाको मूल प्रवाहको समुदायसँग परिचित गराउनु यो फेष्टिभलको मुख्य उद्देश्य रहेको एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले बताए।
कार्यक्रममा क्वीन्सल्यान्डका पर्यटनदूत स्वतन्त्रप्रताप शाह, एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, डा.राजु अधिकारी, एनआरएन अभीयन्ता रमेश जोशी, रमेश पाण्डे, सञ्चारकर्मी भरतराज पौडेललगायतको उपस्थिति रहेको थियो। यस्तै पूर्व उपाध्यक्ष तथा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पाेखरेल, सामाजिक अभीयन्ता भवानी ओली लगायतको उपस्थिति थियो।
कार्यक्रमको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन रहेको थियो।