अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा अस्ट्रेलिया र विश्वभरि रहेका नेपालीलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री मेरिसनले अस्ट्रेलियाको बहुसांस्कृतिक तथा बहुधार्मिक समुदायमा एक अर्काको परम्परा र संस्कृति सम्मान पूर्वक मनाउँदै आएको उल्लेख गरेका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्रीले अस्ट्रेलियामा नेपाली समुदायले गरेको योगदानको पनि चर्चा गरेका छन्।
यस्तै विपक्षी लेवर दलका नेता बिल सर्टनले नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गरेका छन्।
नेता सर्टनको शुभकामना सन्देशमा नेपाली नयाँ वर्ष मनाउने सबैलाई शुभकामना सन्देश पठाउन पाउँदा आफू निकै हर्षित भएको बताएका छन्। शुभकामना सन्देशमा उनले भनेका छन्,‘अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदान महत्वपूर्ण छ। नेपाली परिवारले आफ्नो जीवन कथालाई अस्ट्रेलियन कथा बनाएकोमा गौरवान्वित छु।’
त्यस्तै नेता सर्टनले आधुनिक अस्ट्रेलियाको स्वरुप विभिन्न फरक विस्वास र संस्कृतिहरुबाट नै सम्भव भएको उल्लेख गर्दै बहुसांस्कृतिक अस्ट्रेलियामा यस्ता चाडले आपसी गौरव र विश्वासलाई प्रसय दिएको र अस्ट्रेलियाको एकतालाई थप मजवुद बनाएको पनि उल्लेख गरेका छन्।
यस्तै आप्रवास, नागरिकता र बहुसांस्कृतिक मन्त्री डेभिड कोलम्यानले पनि नेपाली नयाँ वर्ष २०७६ को अवसरमा सबै नेपालहरुमा शुभकामना सन्देश सार्वजनिक गरेका छन्।
नेपाली समुदायको बाक्लो बसोवास रहेको दक्षिण सिड्नीको ब्याङ्स निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका मन्त्री कोलम्यानले अस्ट्रेलियालाई विश्वमै आप्रवासीहरुको सफल देश बनाउन नेपाली समुदायले खेलेको भूमिकाको प्रसंसासमेत गरेका छन्।