गत अप्रिल महिनाको दोस्रो साता अस्ट्रेलियाको सिड्नीमा सम्पन्न अस्ट्रेलियन ओपन कराँते प्रतियोगितामा सहभागिता जनाउन आएका दुई फरक नेपाली कराँते टोलीमा खेलाडीसँगै गैर खेलाडीलाई भित्र्याएर अस्ट्रेलियामै छाडेको प्रमाण भेटिएको छ।
नेपालमा कराते महासंघको विवाद र आधिकारिक निकायको कमजोरीको फाइदा उठाउँदै ब्यक्तिगत पहुँचमा बिदेशी प्रतियोगितामा सहभागिता जनाएका नेपाली टोलीमा खेलाडीसँगै गैर खेलाडी भित्र्याएर अवैध धन्दा गर्ने सक्रिय रहेको यस कुराले प्रमाणित गरेको छ।
प्रतियोगितामा सहभागि हुन आएको पहिलो टोलीमा कुवेरसिंङ खड्का ब्यवस्थापक रहेको र उनको टोलीमा राष्ट्रिय खेलुकद परिषदका स्वास्थ्य विभागका कर्मचारी पदम बिष्ट, जनकसिंह खड्का, विजय लामा, मनिष थापा, विप्लव श्रेष्ठलगायत थिए।
यस टोलीबाट केही खेलाडी र ब्यवस्थापक नेपाल पर्किए पनि अरू यतै बसेको सहभागि एक खेलाडीले नाम नबताउने सर्तमा सेतोपाटीसँग भने।
कुल दुई टिममा गरी १२ जना सहभागि थिए । त्यसमा चार जना गैर खेलाडीसमेत रहेको उनले दाबी गरे। प्रशिक्षकका रुपमा आएका बिनोद महर्जन, खेलाडी विजय लामा लगायतको टोली भने नेपाल फर्किएको एक साता भइसकेको छ। तर, केही खेलाडी र गैर खेलाडी अझै सिड्नीमै छन्। उनिहरु आफ्नो प्रवेशाज्ञालाई परिवर्तन गरेर बिद्यार्थी भिसामा बस्न तारतम्य मिलाउन ब्यस्त छन्।
‘खेलाडी आउनु त स्वभाविक हो। तर, केही पदाधिकारीको बहिनी ज्वाई र शेर्पा थरका एक ब्यक्तिसमेत यो प्रतियोगिताका नाममा यहाँ भित्रिएका छन् र उनीहरु यतै बसेका छन्’, उनले सेतोपाटीलाई बताए ।
यसैबीच राष्ट्रिय खेलुकद परिषदका जनकसिंह खड्काले सेतोपाटीसँग कुरा गर्दै आफूहरु स्वदेश फर्किसकेको जानकारी गराए। ‘९० दिनको भिसा हुन्छ। खेल सकेपछि कोही आफन्त साथीभाइकोमा बस्नु स्वभाविकै हो। ९० दिन कटेपछि पनि स्वदेश फर्किएनन् भने यस्तो भन्न मिल्छ तर अहिलेनै अष्ट्रेलियामा लुक्यो भनेर भन्न मिल्दैन,’ उनले भने।
यसअघि पनि अस्ट्रेलियन ओपन कराँतेको गत वर्षको संस्करणमा समेत नेपाली राष्ट्रिय टोलीका सदस्य एक राष्ट्रिय खेलाडी बिद्यार्थी भिसामा यतै बसेकी थिइन्।
विद्यार्थी भिसामा जानसक्ने सहुलियत सुविधा भए पनि यसलाई अवैद्य धन्दा बनाउनु नहुने क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी यशवन्त सुबेदी बताउँछन्। ‘जे प्रतियोगिता र मुलुकको प्रतिनिधित्व गर्न भिसा दिएको हो त्यसलाई सम्मान गर्न सक्नुपर्छ, यसो भएन र यसलाई पैसा कमाउने धन्दा बनाउन थालिए भोलिका दिनदेखि अन्य नेपाली खेलाडीले यहाँ आएर खेल्ने मौका नपाउन सक्छन्।’
सुवेदीले अगाडि भने, ‘अस्ट्रेलियन सरकारले दिएको सुविधालाई गलत ब्याख्या गर्न थालियो भने नेपालीहरुको नाम समेत बदनाम हुने छ। त्यसैले देशको झन्डा बोकेर जुन प्रतियोगिता खेल्न आएको हो, त्यो खेलेपछि स्वदेश फर्कनुपर्छ । पछि आउन मन लागे आफैं आए भैहाल्यो नी।’
हुन पनि खेलकुद र मनोरन्जनका नाममा अस्ट्रेलिया भित्रिएका कयैन कलाकार तथा खेलाडी यतै गायब भएका थुप्रै फेरिहस्त छन्। तर, यस पटक भने मुलुकको झन्डा बोकेर आएका केही खेलाडी र खेलकुदको नाममा गैर खेलाडीको झुन्डको सहभागिताले औला उठाउने मौका भने दिएको छ। ‘यो सरसार बेइमानी हो, राष्ट्रिय खेलुकद परिषदको समेत मिलोमतो हुनसक्छ, किनभने मनलाग्दी किसिमले कराँतेको नाममा यसरी अलग अलग टिम बिदेश जानु र उतै लुक्नु भनेको सरासर बेइमानी हो’, कराँतेका अन्तर्राष्ट्रिय रेफ्री तथा राखेपका पूर्वकोषाध्यक्ष मिनकृष्ण महर्जनले बताए।
अस्ट्रेलियामा खेल्न गएर बिधिवत बस्न पाउने कुरा अलग हो तर त्यो मुलुकको नाममा भने सरासर धोका हो, बेइमानी हो,त्यसमाथि गैर खेलाडीको झुन्डको सहभागिता आफैंमा आश्चर्यजनक छ, महर्जनको कथन थियो। महर्जनले कराँतेमा गलत राजनीति प्रवेशले यस्ता बिकृतीले प्रवेश पाएको बताए।