अस्ट्रेलियामा नेपाली समुदाय बाक्लिदै जाँदा बढ्दो प्रभाव र महत्व पनि बढ्न थालेको छ।
यसको ज्वलन्त उदाहरण हो, आगामी मे १८ मा हुन गइरहेको ४६ औं संसदका लागि आम निर्वाचन र राजनीतिक दलका प्रतिबद्धताहरू।
निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका एजेन्डा र घोषणासँगै नेपाली समाजलाई लक्षित गरी यहाँका प्रमुख दुई दलले आफ्ना महत्वपूर्ण प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्।
जुन पछिल्लो समयमा अस्ट्रेलियाको राजनीतिमा नेपाली समाजको महत्वपूर्ण सहभागिताकारूपमा लिइएको छ।
अस्ट्रेलियामा हाल सत्तासिन दल लिबरल र प्रतिपक्ष लेबरले एनएसडब्लु राज्यमा उस्तै घोषणा गरेर नेपाली जनमतलाई आफ्नो पक्षमा पार्ने कोशिस गरेका छन्।
यतिखेर दुई दलबीचको प्रतिस्पर्धा निकै साँघुरो मानिँदै आएको छ।
प्राइमरी भोटमा लेबरको ५१ प्रतिशत र सत्तासिन लिबरलको ४९ प्रतिशत मत भिन्नताले पनि चुनाव रोचक मोडमा पुगेको छ।
अस्ट्रेलियामा आगामी मे १८ तारिख शनिबारका दिन संघीय चुनाव हुँदैछ, जसले नयाँ संसद तथा प्रधानमन्त्रीको समेत चयन गर्नेछ।
निर्वाचनमा विधानसभा अर्थात् तल्लो सदनका लागि एक सय ५१ सिट तथा सिनेट अर्थात् उपल्लो सदनका लागि ७६ मध्ये ४० सिटका लागि मतदान हुँदैछ।
गत शनिबार एनआरएनए तेस्रो ओसेनिया क्षेत्रीय बैठकमा अध्यागमन, नागरिकता तथा बहुसाँस्कृतिक मन्त्री डेविड कोलम्यानले गठबन्धन सरकार पुन: निर्वाचित भएमा नेपाली सामुदायिक केन्द्र निर्माणका लागि दस लाख डलर दिने घोषणा गरे।
त्यसको लगत्तै भोलिपल्ट विपक्षी लेबर पार्टीले पनि त्यस्तै खालको घोषणा गर्दै नेपाली सामुदायिक भवनका लागि दस लाख डलर दिने वचनबद्धता प्रकट गरे। लेबरका अध्यागमन,नागरिकता तथा बहुसाँस्कृतिक मामिलासम्बन्धी छाया मन्त्री टोनी वुर्कले नेपाली समुदायलाई सामुदायिक केन्द्र निर्माण सहयोग प्रदान गर्ने घोषणा गरे।
अस्ट्रेलियाको राजनीतिक सरगर्मी चढेकै बेला नेपालीहरूको बाक्लो बसोबास भएको बार्टन क्षेत्रमा नेपाली मूलका प्रमेज श्रेष्ठलाई लिबरल पार्टीद्वारा सांसदको टिकट दिएपछि यस क्षेत्रमा नेपालीको चहलपहल पनि बढेको छ।
पहिलो पटक कुनै पनि नेपालीलाई अस्ट्रेलियाको प्रमुख दलले टिकट दिएको हो।
‘नेपाली समुदायको बढोत्तरीसँगै अस्ट्रेलियामा हाम्रो समुदायलाई लक्षित गरी नीति तथा कार्यक्रमहरू समेत बन्दै जन थालेका छन्, जुन हाम्रो समाजका लागि महत्वपूर्ण उपलब्धि हो,’ एनआरएनका प्रवक्ता डिला खरेलले भने।
नेपाली भाषा यतिखेर सामुदायिक भाषा समेत बनेको छ भने नेपाली भाषा पाठ्यशाला सञ्चालनका लागि सरकारले सहयोग समेत गर्न थालेको छ।
‘स्थानीय राजनीतिमा काउन्सिलदेखि संसदसम्म नेपाली समुदायका सक्षम व्यक्तिहरूलाई उम्मेदवार बनाइ देशको मूलधार राजनीतिमा प्रवेश गराउने प्रक्रियाले हाम्रो समाज र नेपालीको प्रतिष्ठा समेत वृद्धि भएको छ’, एनएसडब्लुका पर्यटनदूत बद्री अर्यालले भने।
‘मुलुकभन्दा धेरै पर अस्ट्रेलियाजस्तो देशमा आएर सशक्त र सबल अनि अब्बल ठहरिँदै गएको नेपालीहरूको इमानदारिता र लगनशीलता नै यहाँका दल र नेताहरूको रोजाइको सूचक हो भन्ने कुरामा दुईमत नभएको एक्सपर्ट एजुकेशनका निर्देशक समेत रहेका अर्यालले सुनाए।
पछिल्ला घटनाक्रम र सहभागिताले आगामी दिनमा अस्ट्रेलियाको राजनीतिक मूलधारमा नेपालीहरूको उल्लेख्य सहभागिता हुनसक्ने संभावना प्रवल देखिएको छ।
प्रतिपक्ष दल लिबरल र लेबरका दुई भगिनी संस्थाहरू लिबरल फ्रेन्ड्स अफ नेपाल र नेपाली फ्रेन्ड्स अफ लेबर केही समयदेखि अस्ट्रेलियन राजनीतिमा देखिएका नेपालीहरूको संस्था हुन्।