कृषि प्रधान देशबाट आएका हामी नेपाली हरियो परियो देखेपछि मन डुलाउन थालिहाल्छौं।
सात समुन्द्र पारी अस्ट्रेलिया जस्तो विकसित देशमा आएर पनि खेतबारी अनि कृषिमा मन डुलाउने नेपालीहरूको संख्यामा पनि कमी छैन।
यहाँ कृषक भनेपछि धनीमानी र हुनेखाने वर्गमा चिनिन्छ । सयौं एकडमा कृषि र उब्जनी अनि आधुनिक प्रविधिको प्रयोगले यहाँ हामीले सोचेजस्तो र भोगेजस्तो प्रणाली भने छैन।
तर रहर र मनले खाएपछि कसको के लाग्छ र ! जहाँ इच्छा त्यहाँ उपाय भनेझैं अस्ट्रेलियाको दक्षिणी सहर एडिलेड नजिकै केही नेपाली व्यवसायीहरू मिलेर सामूहिक कृषि खेती सुरू गरेका छन्।
भर्सटायल इन्भेस्मेन्ट नाम राखेर सञ्चालनमा ल्याइएको यो कृषि व्यवसायमा करिब एक दर्जन नेपालीहरूको लगानी छ।
कम्पनी खोलेर सेयर होल्डरमार्फत् सञ्चालनमा ल्याइएको यो फर्ममा अहिले जुकिनी अर्थात् लामो फर्सी उत्पादन गरिँदै छ।
करिब एक वर्ष अगाडिदेखि दीपक विष्ट, दीपक घिसिङलगायतले यो व्यवसाय सुरू गरेका हुन्।
एडिलेड सहरबा करिब तीस मिनेटको मोटर बाटोमा रहेको यो व्यवसायिक कृषि अन्तर्गत आधुनिक प्रविधिको प्रयोग गरेर प्रारम्भमा जुकिनीको व्यवसायिक खेती सुरू गरेको र पहिलो उत्पादन बजारमा समेत गइसकेको छ। एडिलेड महोत्सवका दौरान एडिलेड पुग्दा नयाँ पेशा अगांलेका समुदायका अग्रज दीपक विष्ट कृषकका रूपमा भेटिए।
रेस्टुरेन्ट व्यवसायमा जमेका विष्ट यतिखेर सामूहिक प्रयासमा थालनी गरेको कृषि फार्ममा उत्पादन टिप्न र बजार व्यवस्थापनमा तल्लीन देखिन्छन्।
‘साँच्चिकै हामी कृषकका छोरा यहाँ आएर पनि कृषिलाई पेशा बनाउन पाउनु हाम्रो लागि गौरवको कुरा हो,’ जुकिनी र खुर्सानीको उत्पादन देखाउँदै दीपकले भने, ‘हामी पहिलो प्रयासमा थोरै लगानीमा यो जुकिनी खेती सुरू गरेका हौं, अब दोस्रो चरणमा ग्रीन हाउसको सोच बनाएका छौं,’ विष्टले भविष्यको योजनाबारे भने।
ओपन फार्मिङभन्दा हाइड्रोपोनिक्स प्रणालीले यस व्यवसाय फस्टाउन मद्दत पुग्ने हुनाले त्यसमा जानुपर्ने जिकिर गरे।
लगभग पन्ध्र बिघा जति क्षेत्रफलको जग्गाको आधी भागमा जुकिनीका बिरुवा लगाइएको छ। छेउछाउमा नेपाली पारामा लगाइएका खुर्सानी र लौकाहरू अनि स्वीमिङपुलमा पौडिरहेका हास देख्दा साँच्चिकै लोभलाग्दो छ विष्ट समूहको यो थालनी ।
‘सुरूमा अस्ट्रेलियनहरूले गरेको कृषि फार्म देख्दा लोभ लाग्थ्यो, दिपक भाइले पनि सुरू गरौं भन्नुहुन्थ्यो, यसैबीच एउटा योजना बुनेर यो सामूहिक अभियानलाई अगाडि बढाएका हौं,’ विष्टले सेतोपाटीलाई भने।
करिब एघार लाख डलरमा किनिएको यो फार्म एडिलेड सहरबाट नजिक रहेको कारण पनि यसको उत्पादन सहर ल्याउन सहज बनेको छ।