अस्ट्रेलियन सरकारी आँकडा अनुरुप करिब पचास हजारको संख्यामा नेपाली विद्यार्थी अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनमा छन्। बाहिरी विद्यार्थीको संख्यात्मक हिसावमा नेपाली विद्यार्थीले यहाँ तेस्रो ठूलो हिस्सा ओगटेको छ।
नेपाली विद्यार्थीले पछिल्लो वर्ष मात्र १.६ बिलियन डलर खर्च गरेको तथ्यांक देखिन्छ। शैक्षिक क्षेत्रमा यति ठूलो धनराशी खर्च गर्ने मुलुकका रुपमा नेपाल परिचित हुनु आफैमा महत्वपूर्ण र अचम्मको विषय हो।
विद्यार्थीको संख्याले पचास हजारको सीमा नाघ्दै गर्दा यसका लुकामारीका अनेकन फेहरिस्त पनि जोडिएका छन्। अस्ट्रेलियाले एउटा विद्यार्थीको पढाइ फी र दैनिकीको बारेमा समेत गहन अध्ययन गरेको देखिन्छ। एक्लै बस्दा हुनसक्ने मानसिक तनाव, आर्थिक बोझ र पारिवारिक वातावरण पाउन नसक्दा समस्या थपिने कुरालाई मध्यनजर गर्दै हरेक विद्यार्थीमा बुढाले बुढी र बुढीले बुढा ल्याउन पाउने सहुलियत समेत दिएको छ।
पढाइ र परिवारसँगसँगै अगाडि बढ्ने हुँदा यो अध्यागमन नीतिले धेरै नेपाली विद्यार्थीलाई राहत पुगेको छ। तर केहीले भने यसलाई गलत रुपमा प्रयोग गरेको पाइन्छ। नक्कली बिहे गरेर पैसाको खेती समेत हुने गरेको छ। जसका कारण कयौं विद्यार्थीले अनाहकमा दुख पाएका छन्। डिप्लोमा पढ्दै गरेका श्रीमानलाई यतै छाडेर घरायसी काममा नेपाल पुगेकी एक नेपाली युवती मेलवर्न फर्कँदै गर्दा केही साताअघि अध्यागमनको केरकारमा परिन्।
अध्यागमनको प्रश्नको ठेट जवाफ नपाएपछि उनलाई प्रहरीले हिरासतमा लियो। उनलाई प्रहरीले अब नेपाल पठाउने निधो गरेको छ। श्रीमानको कलेज, पढाइ र जन्म मिति जस्ता सामान्य प्रश्न सोध्दा जवाफ सही नआएपछि उनी केरकारमा परेकी थिइन्। यति मात्र होइन बिहे गरेर आउनेहरुको यता आएर डिभोर्स गर्ने प्रचलनले नेपाली समाजमा पनि नकरात्मक प्रभाव परेको एनआरएनका पुर्व कोषाध्यक्ष डिला खरेल बताउँछन्।
पछिल्ला दिनमा डिभोर्स र महिला हिंसाका घटनामा नेपालीको संलग्नता बढेको तथ्यांकले देखाएको छ। पछिल्लो एक वर्ष हुँदै नभएको कम्बाइन भिषाले नेपाली विद्यार्थीमा एउटा खराब परिचय नै बनायो। अस्ट्रेलियन सरकारको अध्यागमन विभागले साधरणतया विद्यार्थीको हितमा रहेर जारी गरेको भिषाको पुनरावेदन अर्थात भिषा रिलिजलाई कम्बाइन भिषाका नाममा धन्दा चलाइँदा अहिले कयौं नेपाली विद्यार्थीहरु बिचल्लीमा परेका छन्।
प्रारम्भमा यहाँ आएर पढ्दै गरेका विद्यार्थीको अध्ययन भिषालाई डिपेन्डेन्ट सहित भिषामा पुनरावेदन गर्न पाउने विषय सहुलियतका रुपमा आएको थियो। तर यसलाई नयाँ नामाकरण गरेर कम्बाइन भिषाका रुपमा धन्दा चलाउँदै गर्दा यतिखेर सत्तरी प्रतिशन विद्यार्थीको भिषा रिजेक्ट आउन थालेको छ।
जसले विद्यार्थीमा नकरात्मक प्रभाव समेत परेको छ। आफ्ना पति वा पत्नीलाई चाँडो भन्दा चाँडो ल्याउने चाहनामा हुँदै नभएको कम्बाइन भिषामा फसेर कतिपय विद्यार्थी अलपत्रमा परेका छन्। यो भिषाको प्रावधान भनेको प्रारम्भमा विद्यार्थीको भिषा जारी गर्दा अध्यागमनलाई जानकारी नदिएको कुरालाई लिएर पुनश्च आवश्यक जानकारी सहित बिध्यार्थीको र थपिएको सदस्य सहितको भिषा जारी हुनु हो। चाहे त्यो विद्यार्थी अफसोर होस् या अनसोर त्यो भिषा लिन पाइन्छ।
पछिल्ला दिनमा कलाकार र कार्यक्रमका नाममा मानव तस्करीको काम गर्नेहरुको लर्को नै लागेको छ सिड्नीमा। नेपाली समाज फराकिलो हुँदै गर्दा जोडिएको कला ,संस्कृति र भाषा संरक्षणका नाममा कार्यक्रम गर्ने र लाखौ रकम लिएर मानव तस्करी गर्नेहरुले पनि नेपालीको खिल्ली उडाएको बताउँछन् नेपाली समाजका अगुवा सुवास श्रेष्ठ।
पर्थलाई कर्मभुमी बनाएर काम गर्दै आएका सामाजिक अभियन्ता सुवास भन्छन् ‘खेलुकद र कला संस्कृति हाम्रा पहिचान हुन् तर यसका नाममा गलत सन्देश दिने कार्य गर्नु सरासर बेइमानी हो।’
सुविधा र सहुलियतलाई बिजनेस बनाउनेहरुले गलत ढंगले प्रयोग गर्दा दुरुपयोग हुन सक्ने एक पीडित विद्यार्थीको ठम्याई छ। यस्तै यस्तै कामका कारण नेपाल यतिखेर एससमेन्ट लेभल तीनमा झरेको छ। यस अघि नेपाल अस्ट्रेलियन अध्यागमन र शैक्षिक निकायको नजरमा दोस्रो स्थानमा थियो। भारत, पाकिस्तान र श्रीलंका तेस्रो नम्बरमा रहँदा नेपाल लामो समय दोस्रो वरियतामा रहेको थियो।
सिड्नीका वकिल खिलेन्द्रराज तिम्सीना प्रारम्भमा भ्रमण भिषामा आएका पर्यटकले यहाँ शैक्षिक अध्ययन गर्न पाइने सुविधा दिइएपनि यसलाई फरक रुपमा ब्याख्या गर्दा अहिले आएर कडाइ गरिएको बताउँछन्। ‘अहिले पर्यटक भिषामा आउने पर्यटकहरुले यहा अध्ययन गर्न अंग्रेजी भाषाको परीक्षा दिनुपर्ने र सम्पत्ति देखाउनुपर्ने अवस्था सिर्जना भएको छ , यो पनि गलत ढंगको ब्याख्याको परिणाम हो’ वकिल तिम्सीनाले भने।