टेनिस खेलाडीलाई ग्रान्डस्लामको उपाधि र सहभागिताको विशेष महत्व हुन्छ।
कोरोना कहरबीच अस्ट्रेलियाको रहरले आयोजना गरेको अस्ट्रेलियन ओपन अन्ततः कोरोनाको चपेटामा परेको छ।
समाजिक दुरी र सुरक्षा मापदण्ड भित्र रहेर दर्शकको संख्यात्मक उपस्थिति रहेको अस्ट्रेलियन ओपन अचानक कोरोना संक्रमण देखिएपछि फेरि सुनसान भएको छ।
प्रारम्भमै सबै खेलाडी होटल क्वारेन्टाइनमा बस्नु परेको विषयले निकै चर्चा पाएको मेलवर्न ओपन टेनिसमा आइतबारदेखि दर्शक बिनाका खेल निकै निरस देखिएका छन्।
हुन त जित र हार अनि उपाधिको छिनोफानो हुने भए पनि खाली रंगशालामा प्रशिक्षक र खेलाडी मात्रको उपस्थिति निकै खल्लो देखिएको छ।
मेलवर्न बस्दै आएका नेपाली क्रिकेटर यशवन्त सुवेदीलाई यस पटक अस्ट्रेलियन ओपनका वर्तमान विजेता नोभाक जोकोभिच र क्यानडाका युवा खेलाडी मिलोस राओनिकको खेल हेर्न निकै मन थियो। नेपालमा धेरै पटक अस्ट्रेलियन ओपनको कथा सुनेका र पढेका राष्ट्रिय क्रिकेटर सुवेदीले टिकट पनि काटेका थिए। मेलवर्नमा बस्दै आएको धेरै भए पनि समय र संयोग नमिलेको उनको इच्छा यस पटक पनि पुरा हुन पाएन।
नम्बर एक टेनिस खेलाडी नोभाकले चार सेटको भिडन्तमा राओनिकलाई हराए पनि सुवेदीले प्रत्यक्ष हेर्ने इच्छालाई घरकै टेलिभिजनमा हेरेर चित्त बुझाए।
अस्ट्रेलियन ओपनका आयोजकले मेलवर्न सरकारले लगाएको लकडाउनका कारण दर्शकलाई टिकटको पैसा फिर्ता गर्ने निर्णय सुनाइसकेको छ।
अस्ट्रेलियामा सबैभन्दा प्रभाव क्षेत्रका रूपमा देखिएको मेलवर्नमा यसअघि पनि निकै लामोसमयसम्म लकडाउनको चपेटामा परेको थियो।
कोरोना संक्रमण समाजमा फैलिन थालेपछि राज्य सरकारले कडाभन्दा कडा लकडाउनको घोषणा गर्दै यसलाई नियन्त्रणमा ल्याएको थियो। विपक्षी दलका केही सांसदले विरोध गरे पनि आयोजनाको सवालमा अगाडि सरेको भिक्टोरियाको राज्य सरकारले अस्ट्रेलियन ओपनलाई भने निकै महत्वका साथ राखेको थियो। तर पुनः पाँंच दिने लकडाउनले प्रतियोगितालाई प्रत्यक्ष प्रशारणमै सिमित पारिदिएको छ।
‘इच्छा गरेर मात्र कहाँ पाइदोरहेछ, खेलकुद जगतलाई कोरोनाको कहरले निकै पीरोलेको छ। विश्वकप फुटबलदेखि कयैन ठूला आयोजना यतिखेर चपेटामा छन्’, एनआरएन अस्ट्रेलिया खेलकुद समितिका उप संयोजकसमेत रहेका यशवन्त सुबेदीले सेतोपाटीसँग भने।
अस्ट्रेलियन ओपन यतिखेर चौथो चरणमा पुगेको छ। खेल अब क्वार्टर र सेमिफाइनलमा प्रवेश गर्दै गर्दा मेलवर्नमा कोरोनाको संक्रमण कस्तो रहने हो त्यसैका आधारमा दर्शकको उपस्थिति निर्भर हुन्छ। ‘यदि कोरोनाको संक्रमण केही बढ्यो भने लकडाउन पनि बढ्न सक्छ र प्रतियोगिता सुनसानमै सकिने हुनसक्छ’,जुडो खेलाडी मोहन बमले भने।
भिक्टोरियामा बसोबास गर्दै आएका नेपाली जुडो खेलाडी मोहन समय र परिस्थिति अनुकुल हुन अझै कति कुर्नु पर्ने हो पत्तो नभएको बताउँछन्। अस्ट्रेलियाका स्थानीय प्रतियोगितामा सहभागिता र सफलताका कथा बुन्दै गरेका मोहन दर्शक बिनाको खेल निरस हुने बताउँछन्।
टेनिसमा सेरेना विलियम्स र राफेल नाडाल मन पराउने मोहनले मौका परे टेनिस हेर्न जाने रहर भए पनि कोरोनाका कारण जान नसकेको सुनाए।