कोरोना माहामारीका कारण पछिल्लो डेढ वर्षदेखि विद्यार्थी र दक्ष कामदारको आवागमन ठप्प भएपछि अस्ट्रेलियाको मारमा कृषि क्षेत्र परेको हो।
यसरी कृषि क्षेत्रमा कामदारको अभाव हुन थालेपछि अस्ट्रेलियाको संघीय सरकारले नयाँ भिसा कार्यक्रम सुरू गर्ने भएको छ।
‘अस्ट्रेलियाली कृषि भिसा’ नाम दिइएको उक्त आवासीय भिसा कार्यक्रम हालका लागि दक्षिणपूर्वी एसिया र प्यासिफिक राष्ट्रका कामदारलाई प्राथमिकता दिइने भएको छ।
अस्ट्रेलियाको संघीय कृषि मन्त्री डेभिड लिटलप्राउडले आगामी ३० सेप्टेम्बरबाट उक्त भिसा कार्यक्रम ल्याइने बताएका छन्।
कृषि क्षेत्रमा मागका आधारमा यो आवासीय भिसा तीन वर्ष भित्र पूर्ण रूपमा लागू भइसक्ने मन्त्री डेभिडले बताए। तर कृषि मन्त्री डेभिडले कृषि भिसामा अस्ट्रेलिया प्रवेश गर्न पाउने कामदारको संख्या र कुन देशका कामदारलाई उक्त भिसा दिईनेबारे अन्तिम टुंगो लागिनसकेको बताए।
प्यासिफिक राष्ट्रका कामदारलाई अस्ट्रेलियाली कृषि उद्योगमा काम गर्न प्राथमिकता दिने नीति कायम छ भने त्यसबाहेक दक्षिण पूर्वी एसियाका राष्ट्रलाईसमेत यसका लागि अनुमति दिने भएको छ।
यस्तो कृषि भिसाले देशका स्थायी बसोबास तथा पिआरको विकल्प पनि उपलब्ध गराउने छ। अस्ट्रेलियाली कृषि उद्योगमा काम गर्नेबारे बनाइएको उक्त श्रम नीति देशको इतिहासकै सबैभन्दा ठूलो संरचनात्मक सुधारका रूपमा रहेको मोरिसन सरकारले दाबी गरेको छ।
कोरोनाभाइरस महामारीका कारण हाल अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बन्द रहँदा कृषि उद्योगका लागि ३० हजार कामदारको खाँचो छ।
बेलायतबाट वर्किङ होलिडेमा आउने कामदारलाई कृषि क्षेत्रमा अनिवार्य सहभागि हुनुपर्ने नियम हटाइएपछि पनि यस क्षेत्रमा केही कामदारको अभाव भएको हो। यस्ता कृषि भिसामा आउने कामदारले कम्तीमा पनि महिनाको दुई लाख रूपैया कमाउन सक्ने देखिन्छ।
क्यानबेराका वरिष्ठ अर्थविज्ञ कृष्ण हमाल रिजनल माइग्रेसन सम्वन्धमा गत वर्ष संसदीय सुनुवाइ समितिमा फेन्काको तर्फबाट प्रस्ताव गए पनि त्यो सम्भव नभएको बताउँछन्।
‘हाम्रो जस्तो कृषिप्रधान मुलुकबाट यहाँ कामदार ल्याउन सकियो भने त्यो मुलुकको लागि महत्वपूर्ण योगदान हुन सक्छ। यसका लागि नेपाली राजदूतावासले नै पहल गर्नुपर्छ’, अस्ट्रेलियन सरकारका पूर्व अर्थविज्ञ हमालले सेतोपाटीसँग भने, ‘किनभने यस पटक अस्ट्रेलियाको कृषि क्षेत्रमा कामदारको अभाव खटकिएको छ र राज्यले नया कृषि भिसाको समेत व्यवस्था गरेको छ। यसरी कृषिमा अनुभवी र मिहिनेती नेपाली श्रम बजारलाई अस्ट्रेलियासँग जोड्न सके यो आम्दानीको दृष्टीकोणबाट निकै महत्वपूर्ण हुने र त्यसका लागि सहयोग गर्न नेपाली समाज तयार रहेको छ।’
दोस्रो विश्वयुद्वमा बेलायती सेनाको तर्फबाट अस्ट्रेलियाको रक्षार्थ लडेका गोर्खा सैनिकको सम्मानमा पनि यस्ता खाले मौका नेपाललाई दिनसक्ने सम्भावना रहेको भन्दै उनले राजदूतावासले पहलकदमी गरिराख्नुपर्ने बताए।
यस्ता विषयमा राजदूतावासले पहल गर्ने र लबिङ गर्नुपर्ने हुन्छ तर अपसोच नेपाली राजनीति र खिचातानीले केहि महिनादेखि अस्ट्रेलियामा नेपाली राजदूत पद खाली छ।