सामाजिक क्षेत्रमा विगत दस वर्षदेखि लागि परेको ‘ब्रीज द ग्याप’ले यस पटक पनि आफ्नो सहयोगी भावनालाई अगाडि बढाउँदै दसैं साँझ कार्यक्रम आयोजना गर्ने भएको छ।
नेपाल र अस्ट्रेलियामा रहेका नेपाली समाज बीचको दुरीलाई कम गर्ने माध्यमको रूपमा उदाएको ब्रीज द ग्यापले आउँदो २४ सेप्टेम्बरमा दसैं साँझ गर्न लागेको हो।
कार्यक्रमबाट उठेको सम्पूर्ण रकम विश्वास कार्यक्रम र बालबालिकाको सहयोगको लागि खर्चने संस्थाकी अध्यक्ष सुजिता डंगोल प्रधानले बताइन्।
संस्थाले लमजुङको शारदा माध्यमिक विद्यालयको भवन निमार्णमा सहयोग, पाल्पामा स्वास्थ्य सहयोग, बालबालिकाको शिक्षामा सहयोग, भुकम्प पीडितलाई राहत, डढेलो नियन्त्रणमा सहयोग लगायतका विविध विषयमा आर्थिक सहयोग गर्दै आएको छ।
यस पटक दसैं साँझमा नेपालका केहि चर्चित कलाकारको सहभागिता रहनेछ। यस संस्थाको विश्वास कार्यक्रम भने केही फरक र अलग परिचयमा स्थापित छ।
संस्थाको सल्लाहकार कृष्ण श्रेष्ठले सिडनीका नेपाली विद्यार्थीलाई प्रशिक्षण र सल्लाह दिने उद्धेश्यले विश्वास कार्यक्रमको प्रारम्भ भएको बताए।
यसले निकै प्रभावकारी भूमिका निर्वाह गरेकाले यसरी सहयोगी रकमलाई विद्यार्थीको हितमा खर्चने निर्णय गरेका सल्लाहकार श्रेष्ठले बताए।