आगामी नोभेम्बरको दोस्रो साता ब्रिजबेनमा ‘नेपाल महोत्सव २०२२’ हुने भएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया क्विन्सल्याण्ड राज्य समितिको आयोजनामा हुने महोत्सव नोभेम्बर १३ तारिखमा हुने भएको छ।
ब्रिजबेनको किंग्स जर्ज स्क्वायरमा हुने महोत्सवको तयारी सुरू भइसकेको क्वीन्सल्यान्ड राज्य समितिका संयोजक विनोदभक्त आचार्यले जानकारी दिए।
करिब ९० हजार अष्ट्रेलियन डलर खर्च हुने अनुमान गरिएको नेपाल महोत्सवलाई नेपाल चिनाउने उत्सवमा रूपमा लिएको आचार्यले बताए।
संयोजक आचार्यले यस पटकको नेपाल महोत्सवका लागि क्विन्सल्याण्ड सरकारले पनि आर्थिक सहयोग गरेको जानकारी दिए।
मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज रहेको भन्दै उनले अन्य सहयोगी हातहरू खोज्ने क्रम जारी रहेको बताए।
कम्तिमा १० हजार जना सहभागी हुने अनुमान गरिएको ब्रिजबेनको नेपाल महोत्सव मुलककै पहिचानको विषय भएकोले पनि यसको प्रचार प्रसारलाई क्वीन्सल्यान्डभरीनै तीव्र पारिने संयोजक आचार्यले जानकारी दिए।
नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले हरेक दुई वर्षमा महोत्सव आयोजना हुँदै आएको छ।
यसलाई एनआरएनको महत्वपूर्ण कार्यक्रममा रूपमा अघि सारेको एनआरएन आइसिसी सचिव अभिमानसिंह बस्नेतले बताए।
अष्ट्रेलिया राज्य सरकारका मन्त्री, स्थानीय सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका अतिथिलाई निमन्त्रणा गरिएको एनआरएनका प्रवक्ता उमेश खड्काले जानकारी दिए।
अस्ट्रेलिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोड्न र पर्यटन प्रवर्धनको महत्वपूर्ण माध्यम बनेको महोत्सवलाई भब्य र सभ्य बनाउन औपचारिक कार्यक्रम हुनु अगाडि नेपाली समुदायको भेषभुषासहितको परेड आयोजना गरिने क्वीन्सल्यान्ड राज्य समितिका सचिव अतुल खड्काले बताए।
कार्यक्रम अवधिभर नेपाली भाषासहितका सांगीतिक नाचगान हुने र कार्यक्रममा दीपक बज्राचार्यसहितको नेपाली ब्यान्डले आफ्नो प्रस्तुति दिने तय भएको खड्काले बताए।
महोत्सवमा स्थानीय कलाकारको पनि विशेष प्रस्तुती रहनेछ।