पश्चिम् अष्ट्रेलियाको पर्थ शनिबार नेपालमय भएको छ।
पर्थको मुख्य क्षेत्र फरेस्ट चेसमा आयोजना गरिएको नेपाल महोत्सवक अवसरमा यहाँका सडक र बजारका मुख्य क्षेत्रमा नेपाली पहिरन, कला र संस्कृति झल्कने विभिन्न झाकीले भरिएको छ।
महोत्सवमा अष्ट्रेलियाका नेपाली राजदूत, पश्चिम अष्ट्रेलियाका डेपुटी प्रीमियर, विभिन्न राजनीतिक दलका नेताका साथै एनआरएनएका पदाधिकारी र विभिन्न सस्थाका प्रतिनिधिको सहभागिता रहेको छ।
कार्यक्रममार्फत नेपाली कला संस्कृतिका साथै नेपाली पर्यटन प्रवर्द्धन हुने विश्वास आयोजकले लिएको छ।
महोत्सवमा नेपाली खाना, ब्यवसायीक, पर्यटन प्रबर्द्धन गर्ने किसिमका ३० वटा स्टल राखिएका छन्। महोत्सवमा करिब ५ हजार नेपालीको सहभागिता रहेको छ।
महोत्सवमा नेपाली कलाकार सन्दीप क्षेत्री, गायक दीपक बज्राचार्य र रिदम ब्याण्डले प्रस्तुति दिनेछन्।
मेलबर्न, डार्बिन ,तास्मानिया, ब्रीजबेन र सिड्नीमा नेपाल महोत्सव सम्पन्न गरेको एनआरएनले पर्थमा महोत्सवलाई भव्य बनाएको छ।
अष्ट्रेलियामा नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृतिका बारेमा जानकारी गराउन र नेपालको पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ नेपाल महोत्सव आयोजना गर्न लागिएको हो।
नेपालीको कला संस्कृतिको प्रवर्द्धन गर्ने मूल उदेश्य रहेको उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँको फोटो भिडियो प्रदर्शनीसमेत गरिने संयोजक बस्नेतले बताए।
पर्थमा हुने महोत्सवमा सहभागी हुन पर्थ वरपरका अल्बानी, मन्डिरा बनबेरी र अन्य धेरै क्षेत्रीय शहरहरूमा बसोवास गर्ने नेपाली पनि सहभागी हुने उनले बताए।
नेपाल कला संस्कृतिको धनी देश भएकाले यस कार्यक्रममा विभिन्न जात जाति भाषभाषीका झाँक्री पनि प्रस्तुत गरिनेछ। नेपाल महोत्सव पर्थमा आउँदा एक जना विदेशी साथी लिएर आउन उनले पर्थवासी नेपाली समुदायलाई आग्रहसमेत गरेका छन्।