नेपाली मूलका विदेशी नागरिकले नेपालमा लगानी गर्न नयाँ अभियान सुरू गरेका छन्। ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ नामक अभियानमा विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिले पुँजी जम्मा गरेर नेपालमा लगानी गर्नेछन्।
विदेशी नागरिक भइसकेका नेपालीको ज्ञान, सीप, पुँजी र पेसागत दक्षता नेपालको विकासमा उपयोग गर्न यस्तो अभियान सुरू गरिएको अभियानको नेतृत्व गरेका नेपाली मूलका अस्ट्रेलियन नागरिक ज्ञारी (ज्ञानेन्द्र) कार्कीले बताए।
पढाइ सकेर अलमलमा परेका नेपाली युवालाई उनीहरूले सिकेको सिप र क्षमताको सदुपयोग गराउँदै प्रारम्भीक लगानीमा अगाडि बढाउन उनले अभियान सुरू गर्ने जमर्को गरेका हुन्।
विदेशी नागरिक भइसकेका नेपालीबाट सानोसानो पुँजीलाई जम्मा गरेर त्यसलाई नेपालमा लगानीका रूपमा ल्याउन यो अभियानले पुलको काम गर्ने उनले जानकारी दिए।
अहिलेको यो आवश्यकता भएको भन्दै उनले यही अनुरूप ‘कनेक्ट एनआरएन बिल्ड नेपाल’ भन्ने अभियान अगाडि बढाएको जानकारी दिए।
उनले यो अभियानलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)भन्दा फरक र त्यससँग असम्बन्धित रहेको स्पष्ट पारे।
विदेशी नागरिकता प्राप्त गरे पनि नेपालको विकास र प्रगतिको चाहना हुने भएकाले यस्तो अभियान अगाडि बढाइएको उनले जानकारी गराए।
नेपालमा स्मार्ट सिटीको अवधारणा कार्यान्वयन गर्न अभियानले प्रारम्भिक रूपमा अध्ययन गरिरहेको उनले बताए। ‘विदेशमा जस्तै नेपालमा पनि स्मार्ट सिटीको अवधारणाअनुसार विभिन्न क्षेत्र छुट्याएर आवास क्षेत्र, अस्पताल, पार्किङ बनाउन सक्ने सम्भावना छ,’ उनले भने।
एनआरएनएको नाममा ठूला परियोजनामा केही व्यक्तिले मात्र लगानी गर्ने र मुनाफा लगिरहेको अवस्थालाई परिवर्तन गरेर नेपालको विकास चाहने यो अभियानमा जोडिएको कार्कीको भनाइ छ।
‘विगतमा यहाँ शक्तिको प्रयोग गरेर ठूला परियोजनामा सीमित गैरआवासीय नेपालीले मात्र लगानी गरेर फाइदा लिने प्रवृत्तिलाई अभियानले बदल्न चाहन्छ,’ उनले भने।
यसरी सङ्कलन गरिने पुँजीबाट नेपाल भित्र्याउन नेपाल राष्ट्र बैङ्कले स्पष्ट व्यवस्था गरिदिनुपर्ने कार्कीले माग गरे। ‘परियोजनामा लगानी गर्ने स्पष्ट मापदण्ड र लगानीको सुरक्षा भयो भने यो अभियानले त्यस्तो पैसा नेपाल ल्याउन सक्छ,’ उनले भने। त्यसरी लगानी गरेको रकमको मुनाफा लैजान दिने वा त्यसलाई पुनर्लगानी गर्नुपर्ने विषय पनि स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
विदेशमा पनि कर तिरेकै रकम नेपाल ल्याउने हुनाले यहाँ हुने लगानीमा कर छुट भए धेरै रकम ल्याउन सकिने अवस्था रहेको उनले जानकारी दिए। ‘हाम्रो अभियानमा राजनीतिक हस्तक्षेप भयो भने लगानी आउन सक्दैन। प्रक्रिया सहज बनाएर लगानी ल्याउन दिने हो भने १० वर्षमा कोही पनि नेपाली बाहिर जानु नपर्ने वातावरण बनाउन सकिन्छ,’ उनले दाबी गरे।
सानैदेखि व्यापार व्यवसायमा रूची राख्ने ज्ञानेन्द्र कार्की यतिखेर अस्ट्रेलियाको नेपाली समाजमा युवा उद्यमीका रूपमा परिचित छन्। मोरङ रंगेली थातथलो भए पनि स्कुल सकेपछि उनले विराटनगरलाई कर्मथलो बनाएका थिए।
कलेजको पढाइसँगै उनले होटल र फर्निचर व्यवसाय सुरू गरे। त्यसपछि काठमाडौंमा चिकित्सा उपकरण व्यवसायमा जमेका ज्ञानेन्द्र कार्की यतिबेला अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा एउटा ‘ब्रान्ड’ बनिसकेका छन्।
उनको नेतृत्वमा सिड्नीमा मेट्रो प्रोजेक्ट डेलभपमेन्ट्स ग्रुप, मेट्रो होम पार्टनर्स, ल्याभिस कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट, अन्नपूर्ण रेसिडेन्सियल, एक्सपर्ट स्टेट एजेन्ट्सलगायतका कम्पनी सञ्चालनमा छन्। यी कम्पनीले रियल स्टेटसँग सम्बन्धित सम्पूर्ण किसिमका सेवा प्रदान गरिरहेको उनले जानकारी दिए।
उनलाई नेपालीले ज्ञानेन्द्रका रूपमा चिन्दै गर्दा अस्ट्रेलियनसहित तेस्रो मुलुकले ‘ग्यारी’ का नामले चिन्ने गरेका छन्।
सुरूमा ‘मेट्रो होम्स एन्ड पार्टनर्स’ बाट रियलस्टेट व्यवसाय सुरू गरेका ज्ञानेन्द्र यतिबेला लाभिस कन्स्ट्रक्सन एन्ड डभेलपमेन्ट, (लेभिस कमर्सियल डिभिजन) अर्बन होम्स र एक्सपर्ट स्टेट एजेन्ट गरी रियलस्टेटका सबैखाले विधामा छाएका छन्।
उनको निमार्ण कम्पनीले आठ तलासम्मको व्यापारिक तथा व्यवसायीक घर/अफिस निर्माण गर्न पाउँछ। जुन अहिले अस्ट्रेलियामा नेपाली मुलको सम्भवत पहिलो सफलता हो।
विभिन्न वाधा व्यवधान पार गरेर अहिलेको स्थितिमा आएका ज्ञानेन्द्र निरन्तरको लगन र मिहेनतले सफल भएको बताउँछन्। ‘प्रारम्भमा धेरैले खुट्टा तान्ने प्रयास नगरेका होइनन् तर म आफ्नो बाटो नबिराइ हिँडेकाले उनीहरू आफैं पछि फर्कन बाध्य भए’, उनले सेतोपाटीसँग भने।
ज्ञानेन्द्र यतिबेला नेपाली भन्दा बंगाली, भारतीय, अरेविक र चिनियाँ समाजमा ग्यारीका नामबाट बढी लोकप्रिय छन्। तर पनि उनलाई आफू जन्मेका ठाउँ र हुर्केको गाउँ अनि आफ्नो समाज सबै भन्दा प्यारो लाग्छ।
नेपाली समाज र नेपालसँग जोडिने हरेक अभियानमा जोडिदै आएका ज्ञानेन्द्रले समाजसेवासँगै व्यापार व्यवसायलाई एक साथ अगाडि बढाएका छन्।
अस्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँगै गतिविधि पनि निकै बढेका छन्। हरेक क्षेत्रमा नेपालीहरुको पहिचान बढ्दै गएको छ भने ब्यापार व्यवसायमा पनि उत्तिकै सहभागिता छ।
‘हामीले स्टार्ट अप क्यापिटल अर्थात प्रारम्भीक व्यवसायीक पूँजी लगानीको सुरूवात गर्ने र नेपाली युवालाई यसमा समाहित गर्ने एउटा ठूलो प्रयास सुरुआत गरेका छौ’, कम्पनीका कार्यकारी समेत रहेका ज्ञानेन्द्रले भने, ‘यसका लागि अस्ट्रेलियासँगै नेपालमा पनि महत्वपूर्ण अभियान थाल्नेछु।’
त्यस्तै उनले स्टार्टअप व्यवसायमा पनि लगानी गरिदिने सुविधा उपलब्ध गराएका छन्। त्यस्ता स्टार्टअपको सोचअनुसार न्यूनतम ५० हजार डलर रुपियाँसम्म लगानी गरिरहेको उनले जानकारी दिए। व्यवसाय सञ्चालन गर्दा आवश्यकताअनुसार लगानी पनि थप्दै जाने उनले बताए।
यो सँगै ज्ञानेन्द्रले प्रवासी नेपालीमाँझ एउटा महत्वपूर्ण एजेन्डाका रूपमा स्टार्ट अप क्यापिटल अभियानलाई अगाडि बढाउने चाहना रहेको बताए।
‘नेपालीहरुको बलियो उपस्थितिसँगै अबको भविष्य भनेको उद्यमशिलतानै हो। यसमा नेपालबाट आएका हजारौ युवाहरुको भविश्य जोडिएको छ र अबका दिनमा अस्ट्रेलियाको सबै क्षेत्रमा नेपाली तन मन र जन फैलनु पर्दछ’, उनले भने।
कार्कीले आफ्नै नेतृत्वमा अस्ट्रेलिया पढ्न गएका नेपाली विद्यार्थीलाई त्यहाँ उपयोगी हुने सीप सिकाउने अभियान पनि सुरु गरेका छन्। ‘सारथी फाउन्डेसन’ नाम दिइएको उक्त अभियानले अष्ट्रेलियाका नेपाली विद्यार्थीलाई आईटी, रेस्टुराँलगायतका क्षेत्रमा उपयोगी हुने सीप सिकाउने उनले जानकारी दिए।
छोटो समयका त्यस्तो तालिमबाट विद्यार्थीले अस्ट्रेलियामा राम्रो जागिर पाउने अवसर खुल्ने उनले बताए। यो तालिम लिन विद्यार्थीले कुनै शुल्क तिर्नु नपर्ने उनले स्पष्ट पारे।
अहिले अस्ट्रेलियामा ७० हजार भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको तथ्यांकले बताउँछ। जुन निकै ठूलो संख्या हो। यसरी नेपाली युवाको रोजाइको मुलुक भएकोले पनि सम्भावनाका कयैन पाटालाई केलाएर उनीहरुलाई व्यवसायमा संलग्न गर्ने महत्वपूर्ण उद्धेश्य पनि बोकेको ज्ञानेन्द्र बताउँछन्।
व्यवसायीक रूपमा केही कमायौं भने त्यसको केही हिस्सा सामाजिक सहयोग र सदभावमा खर्च गर्न सके मात्र त्यसको सफलता सबै भाझ बाढ्न सकिने ज्ञानेन्द्रको ठहर छ। ‘हामीले हाम्रै घर किन्नुपर्छ भन्दैनौं तर कम्तीमा तपाईँको जीवनभरको लगानीको सही सदुपयोग हुनुपर्छ भन्ने ठान्छौ,’ उनले भने।