अस्ट्रेलिया भ्रमणमा रहेका पोखरा विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले युवाशक्तिको बढ्दो पलायन रोक्न र दक्षजनशक्ति निमार्णका लागि प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन्।
गैर आवासीय नेपाली संघको प्राविधिक तथा दक्ष जनशक्ति विभागको संयोजनमा सिड्नीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति अर्यालले शैक्षिक निकाय राजनीतिक दलको मैदान भएकाले सोचे अनुसार लक्ष्य हाँशिल नभएको बताए।
विदेशमा बसेर मातृभूमीका लागि केही गर्न चाहने जमातको उत्साह र उमंग देखेर आफू निकै हर्षित भएको भन्दै उपकुलपति अर्यालले पोखरा विश्वविद्यालयले आफ्ना नयाँ पाठ्यक्रममा प्राविधिक विषयलाई महत्वका साथ समावेश गराएको जिकिर गरे।
‘अन्डाबाट चल्ला जन्मने कुरा चित्र हेरेर सबैलाई थाहा भए पनि बास्तविक रूपमा यसको प्रविधि के हो भन्ने कुरा थाहा हुन्न’, उनले भने, ‘आगामी दिनमा एनआरएन र पोखरा विश्वविद्यालयको सहकार्यमा केही नयाँ आयाम कोरिनुपर्छ।’
कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन दयाराज ढकालले जिन्दगी र जीवनको परिभाषालाई फराकिलो दायरामा राखेर हुर्नेपर्ने र जीवनमा समाज अनि मुलुकलाई केही योगदान दिनसक्ने सोच महत्वपूर्ण रहेको बताए।
पछिल्ला दिनमा शिक्षाको आयाम भिन्नाभिन्नै रहेको र यसको महत्व अलग र फरक रूपमा लिइनुपर्ने समय आएको ढकालले बताए।
प्राविधिक शिक्षाले मानिसलाई योग्य बनाउनुका साथै वैदेशिक रोजगारीको सिलसिलामा अब्बल साबित गर्ने क्षमता समेत राख्ने डिन ढकालले बताए।
कार्यक्रममा एनआरएनका उप महासचिव गणेश केसीले प्राविधिक शिक्षालाई नेपाल र अष्ट्रेलियाबीच जोड्नुपर्ने बेला आएको बताए।
यतिखेर अस्ट्रेलियामा कमाउ पेशाका रूपमा प्राविधिक संकायलाई मानिने उदाहरण दिँदै केसीले नेपालमा पनि विश्वविद्यालयहरुले प्राविधिक शिक्षालाई कोर्सका रुपमा विकास गरेर अगाडि बढाउने समय आइसकेको बताए। यसको सहकार्यका लागि एनआरएन सधैं तयार रहेको उप महासचिव केसीले जानकारी दिए।
कार्यक्रममा एनआरएनका सचिव होम पाण्डेले प्रविधिको विकासले मानिसलाई धेरै कुरामा सहजता दिलाएको भन्दै प्राविधिक शिक्षा जो कोहीको लागि पनि महत्वको विषय हुने जिकिर गरे।
कार्यक्रममा बोल्दै चितवन समाजका अध्यक्ष पूर्णनाथ घिमिरेले समय परिस्थिति र विकासले सर्टिफिकेट भन्दा अनुभव र दक्षतालाई प्राथमिकता दिएको परिप्रेक्षमा प्राविधिक शिक्षाको महत्व अझ बढेको बताए।
एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाका अध्यक्ष सुवास साहले विदेशमा प्राविधिक शिक्षाको महत्व बढिरहेको अवस्थामा मुलुकमा भने प्राविधिक शिक्षालय हराउँदै जानु चिन्ताको विषय भएको बताए।
‘विदेश पढ्न आउने विद्यार्थीले जुनसुकै प्राविधिक ज्ञान बोकेर आएमा केही दिन भित्रै राम्रो काम पाउन सक्छन्, यो एउटा सानो उदाहरण मात्रै हो’, उनले भने।
जनसम्पर्क समितिका अध्यक्ष शुरेश गुरूङले बदलिदो परिस्थिति र विकासक्रमसँगै प्राविधिक शिक्षाको महत्व बढेकाले नेपालमा पनि यसलाई महत्वपूर्ण स्थान दिनुपर्ने कुरामा जोड दिए।
कार्यक्रममा पूर्व आइसीसी सदस्य अरूण ठाकुरले आफू पनि प्राविधिक क्षेत्रकै मानिस भएकोले यस्ता विषयमा देशका नीति निर्माताले ध्यान नदिँदा मुलुकले घाटा बेहोर्नुपरेको सुनाए।
जनसम्पर्कका पूर्वअध्यक्ष कृष्ण गिरी, उपाध्यक्ष राजेश केसी, जनसम्पर्कका महासचिव रोहित खड्का, अर्वन रियलस्टेटका बिशाल पोखरेल, इजी फाइनान्सका उद्धव भट्ट, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङलगायतले प्राविधिक शिक्षाको विषयमा आ-आफ्ना धारणा ब्यक्त गरेका थिए।