पार्वती र शिवजीको
कथा हराउन थाल्यो
ब्रत - तपस्याको चर्चै छैन
हिन्दीको आइटम डान्समा
पार्टी प्यालेसमा बज्दैछ तीज!!
पहिले पहिले ,
माइती र माइतको सम्झनामा
दिदी - बैनी घर आउँदा
कति रमाइलो लाग्थ्यो
बेदनाका गीत पोखेर
छताछुल्ल नाच्थे र नचाउथे!
खै के भो
आजकल त
पार्टी पार्टीका गीत गाउँछन्
पोइल जान पाम् भन्दै
रक्सी र भोड्का पो गाउँछन्
लाजै नमानी हरितालिका मनाउँछन् !!
यसैले,
अलिकति फितलो भएको छ
मरो हरितालिका तीज
विज्ञापन र प्रवेश शुल्कले
महंगा सारी र पहेला गहनाले
गरिबीको घरसम्म पुग्न सकेकी छैन!
त्यसैले
तीजै आयो भन्छन्
सबै माइत जान्छन्
मनैको रहर पुग्यो बरीलै ..
दुःखी -सुखी सबैसँग गाइदेउ
वर्षै पिच्छे पहिले जस्तै भएर आइदेऊ
पार्वती भएर छाइदेउ , शीवजीका गीत गाईदेउ
हरितालिका तीज सबैको घर -घरमा आइदेउ
हरितालिका तीज सबैको घर -घरमा आइदेउ!!