एक महिनाभरमा कम्तीमा बीसवटा तिजका कार्यक्रम अस्ट्रेलियाको सिडनीमा मात्र मन्चन हुने भएको छ। पुरै अस्ट्रेलियामा गन्ने हो भने यो सङ्ख्या पचास भन्दा माथि पुग्ने छ।
नेपालमा नाम चलेका गायक गायिका सम्मिलित कार्यक्रम चलिरहँदा प्रवासमा नेपालीको महान चाड हरितालिका तिजको तिथिमिति र महत्त्वका बारेमा भने आयोजक नै अन्यौलमा देखिएका छन्। शनिबार सिड्नीका पाँच स्थानमा एकैपटक तिज कार्यक्रमको आयोजना सम्पन्न भयो। कतै टिका पुनको स्वर गुन्जियो भने कतै चन्दा अर्याल तिजको भाका टिप्दै थिइन्। सिड्नीको ग्रानभिल,रकडेल, हन्सबी, ब्ल्याकटाउनमा तिजका भाकामा छमछमी नाच्ने महिला दिदीबहिनीसँगै पुरुषहरु पनि जोशिलो मुद्रामा तिज मनाउँदै थिए।
महिला बिशेषको पर्वका रुपमा चिनिने तिज यतिखेर प्रवासमा पुरुषहरुको पनि रमाइलो चाडका रुपमा परिचित हुँदैछ। कार्यक्रम आयोजक पनि पुरुष अनि सहभागितामा पनि पुरुषकै बाहुल्यता र नाचगानमा पनि पुरुष नै हावी देखिन थालेपछि यो चाड कसको हो भनेर छुट्याउन हम्मेहम्मे परेको छ।
तिथिमितिभन्दा धेरै अघिदेखि विदेशतिर समय मिलाएर आयोजना गरिने तिज यतिखेर कला संस्कृति होइन, फेसनका रुपमा मौलाउँदै छ।
महिलाहरु जम्मा भएर सुखदुखका अनुभव भावनाहरु गीत मार्फत पोख्ने पर्व थियो, तीज। आजभोलि उत्ताउला र दोहरी गीतलाई जबर्जस्ती तिजगीतका नाममा बजार पिट्ने र महिलाका नाममा पुरुष नाच्ने पर्वका रुपमा यसको स्वरुप बदलिंदै छ। सालिन पर्व यतिखेर प्रवासमा मदिराका प्यालामा फेसन प्रदर्शन गर्ने अवसरका रुपमा अगाडि बढाइँदै छ।
सिड्नीका युवा व्यवसायी किरण थापाले फेसबुकमा यसरी तिजको तिखो वर्णन गरेका छन– फेसबुकका पेजमा बुरुक बुरुक पुरुषहरु नाचेको भिडियो आउँछ। तिजको गित गाउने पुरुष, तिजको कार्यक्रम आयोजक पुरुष, तिजको कार्यक्रममा नाच्ने पुरुष देख्दा अब तिज महिलाहरुको महान् पर्व रहेन।
डा. भरतराज पौडेल तिज सबैको चाड बन्दै गरेकोमा सबैलाई बधाई दिन चुक्दैनन्। पौडेल भन्छन– पर्वहरु पनि समय र परिस्थिति अनुरुप परिस्कृत हुँदै गएको छ।
वास्तवमा तिज प्रवासी नेपालीका लागि नाच्नु गाउनु मात्र होइन, दुःखसुखको गफ गर्ने अनि आत्मियता बढाउने सुअवसर पनि हो। "व्यस्त जीवनका बीच पनि श्रीमतीहरुलाई श्रीमानले साथ दिंदा पुरुषको पनि चाड जस्तो देखिएको हो", सिड्नीका कानून व्यपसायी खिलेन्द्रराज तिम्सीना बताउँछन्।