मुलुकको बिपत्तीमा जुरुक्कै उठने समाजका रूपमा कहलिएको छ प्रवासी नेपाली समाज । बिनासकारी भूकम्पले क्षतबिक्षत पर्दा होस वा बाढी पहिरोले डुबानमा पर्दा। प्रवासमा बस्ने नेपालीहरुको साझा चौतारीका रुपमा रहेको गैर आवासीय नेपाली संघले देशको घाउमा मलम लगाउने काम गरेको तथ्य कसै सामु छिपेको छैन। यतिखेर पनि मुलुक प्राकृतिक बिपत्तीको चपेटामा परेको छ। लगातारको बर्षाले देशका १५ जिल्ला पुरै प्रभावित बनेका छन्। करिब पचास जना नेपालीले ज्यान गुमाउनु परेको छ। लाखौ मानिसहरु बिस्थापीत हुन पुगेका छन्।
फेरि देश दुखेको छ। मुलुक प्राकृतिक प्रकोपको चपेटामा पिल्सीएको छ। यस्तो अवस्थामा फेरि पनि हाम्रो काँधमा नयाँ जिम्मेवारी र दायित्व आएको छ। अब यस्तो परिस्थितिमा हामीले आकस्मिक बैठकबाट एउटा आपतकालिन राहत कोषको स्थापना गरिसकेका छौ।
यसमा अध्यक्ष शेष घलेलगायतबाट सहयोग रकमको घोषणा गरिसक्नुभएको छ । यसमा हामीले पनि सहयोग गर्ने बचनबद्धता प्रकट गरिसकेका छौ । यति मात्र हाम्रो दायित्व होइन हामीले आकस्मिक राहतका लागि मात्र यो तुरुन्तै यो अभियानको थालनी गरेका हौ। अब हामीले संसारभर करिब ७५ देशमा फैलिएको प्रवासी नेपालीहरुलाई सहयोगको अपिल र राहतमा खट्न आग्रह गर्नेछौ।
हिजोका दिनहरुमा जसरी हामी खटेका थियौ, भूकम्पको राहतमा वा अन्य सन्दर्भमा अबका केही दिन हामीहरु मुलुकको सेवामा जुटनुपर्ने बेला आएको छ । यसका लागि एनआरएनले नेपालमा आवश्यक राहत सामाग्री र पीडामा मलम लगाउने कार्यमा जुटनु पर्नेछ। यसै सन्दर्भमा हाम्रा गैर आवासीय नेपाली संघका सबै देशहरुले सहयोगको आब्हान गरिसक्नु भएको छ।
अध्यक्ष शेष घले र जमुना घलेको एमआइटी फाउन्डेसनले एक करोडको प्रतिबद्धता जाहेर गरेर आफ्नो प्रतिबद्धता प्रमाणित गरिसकेको छ । यस दुखद घडीमा हामी सबै नेपाली देशबासीको साथमा साथ र पीडामा मलम बोकेर आफ्नो जिम्मेबारीमा जुटने बेला आएको छ ।यस्तो बवस्थामा कतिपय कुरा तत्काल र केही दिर्घकालिन गर्नु पर्ने हुन्छ ।
हिजो भूकम्पको बिनासमा तत्कालै राहतमा जुटेको एनआरएनले त्यस बेला उद्दारमा सहयोग गरेको र दिर्घकालिन सहयोगका रुपमा लाप्राकको नमुना बस्ती योजना अगाडि बढिरहेको कुरा सर्वविदितै छ । यतिखेर मुलुक मर्माहत भएको छ, पूर्वका झापा, मोरङ, सुनसरी मात्र होइन सर्लाही रौटहट, धनुषा, बारा, पर्सा, बाँके र बर्दिया बाढीबाट अक्रान्त भएको छ।
हजारौं नेपाली जनता ज्यान जोगाउन सुरक्षित स्थानमा सरेका छन्। यस्तो अवस्थामा हामी प्रवासी नेपालीहरु एकजुट भएर सहयोगको हात र पीडामा साथ दिने समय आएको छ। एक पटकको नेपाली सधैको नेपाली भन्ने हाम्रो नारालाई पनि यसले मार्ग प्रसस्त गर्ने छ । उठौ,लागौं सके हातमा हात मिलाउ, नसके सहयोगको साथ दिलाउँ। भुगोलको जुन कुनामा रहे पनि नेपालीत्व कहिले कमजोर हुन सक्दैन। राष्ट्रियता भूगोलभन्दा धेरै फराकिलो हुन्छ। अन्तमा सबैको एउटै स्वर हामी नेपाली हाम्रो नेपाल।