हालै मुलुकमा अबिरल वर्षासँगै आएको बाढीबाट प्रभावितलाई राहतस्वरूप एक दम्पत्तिले आफ्नी छोरीको जन्मदिन मनाउन छुटाएर राखेको ३ हजार डलर अर्थात ३ लाख भन्दा बढी नेपाली रूपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन्।
अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ र दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभा देवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अबसरमा आयोजना गर्न लागेको पार्टीका लागि छुटाएको ३ हजार अष्ट्रेलियन डलर बाढी पीडितलाई सहयोग गर्ने भएका हुन्।
उनीहरूले उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत प्रयोग गरिने बताएका छन्।
अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने ३४ हजार घर डुबानमा परेका छन्।
यसअघि पूजा श्रेष्ठ र पुरक श्रेष्ठको नामबाट लुम्बिनी गेट अभियानको लागि पनि अस्ट्रेलियाबाट सहयोग गरिसकेका छन्।