नेपाली मुलधारको राजनीतिबाट अलग भएर कर्मको राजनीति गर्न रूचाउने श्री नापित अष्ट्रेलियाको राजनीतिमा होमिएका छन्।
काठमाडौंका रैथाने नापीत केही अगाडिदेखिनै अस्ट्रेलियाको राजनीतिमा चाख लगाउने गर्थे। यहाँका प्रमुख दुई दलमा सत्ताधारी लिबरलको राजनीतिलाई नजिकबाट नियाल्दै गर्दा श्री नापीत पनि बिस्तारै यहाँमा रमाउन थाले।
अस्ट्रेलियामा नेपाली समाज बिस्तार हुँदै जाँदा नापीतले लिबरल पार्टीमा आवद्ध भएर नेपाली समुदायको आवाज बोक्न थाले । उनले नेपाली समाजका आवाजलाई अष्ट्रेलियन सरकारसमक्ष पुर्याउन पुलको काम गरे। अहिले पनि नेपालबाटै सर्वसुलभ भिसा र अभिभावक भिसाका बारेमा सरकारलाई नैतिक दबाब दिने काममा भिडेका छन्।
नेपाली समुदायका अगुवाका रूपमा परिचित श्री नापीत एनआरएन तथा अन्य नेपाली संघ संस्थामा समेत नेतृत्व गरिसकेका छन्।
यतिखेर भने नापीतको अभियान फरक छ, उनी आउँदो सेप्टेम्बर ९ मा हुने काउन्सिलरको निर्वाचनमा विलोवी काउन्सिलको नोरेम्वर्नबाट काउन्सिलरको पदमा निर्वाचनमा भिड्दै छन्।
सम्भवत अस्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा काउन्सिलमा निर्वाचनमा सहभागि हुने नापीत पहिलो नेपाली मुलका अस्ट्रेलियन हुन्। करिब १० हजार मतदाता रहेको उनको सो काउन्सिलमा उनी पहिलो नम्बरमा रहेर चुनावमा सहभागि हुँदैछन्।
गोराहरुको बाक्लो उपस्थिति रहेको अर्टामन र सेन्ट लियानार्ड जस्ता बस्तीमा बाह्य मुलका ब्यक्तिले चुनाव लड्नु चानचुने कुरा होइन। सिड्नीको उत्तरी भेगमा श्रीमती प्रतिक्षा पाण्डे र दुई छोरा श्रवण र प्रतिकसँग बसोबास गर्दै आएका श्री नापीतको यो निर्वाचन सहज भने छैन। तर, नापीतको अठोट पनि कम छैन। नर्थ सिड्नी ब्वाइज हाइस्कुल प्यारेन्ट एन्ढ सिटिजन एशोसिएसनका अध्यक्ष समेत रहेका नापीत नर्दन सवअर्ब डिस्ट्रीक काउन्सिलका कार्यकारी सदस्य हुन्।
नेपालीहरुको न्युन उपस्थिति रहेको यो क्षेत्रमा नापीत स्वतन्त्र उमेद्बारका रूपमा चुनावी दौडमा आएका हुन्। तल्लो निकायका निर्वाचनमा पार्टीको झन्डा भन्दा ब्यक्तिको प्रभाव र ब्यक्तित्वले निर्वाचन जितिने हुनाले उनी स्वतन्त्र रूपमा मैदानमा भिडेका हुन्।
‘अस्ट्रेलियामा बस्ने यतैको नागरिकता लिने अनि नेपालकै राजनीतिमा मारामारी गर्ने हाम्रो परम्परालाई अलि फरक ढंगले हेरिनुपर्छ भन्ने मेरो शन्देश पनि हो’, नापीतले उमेद्बारीका विषय बारे सेतोपाटीलाई सुनाए, ‘कमसेकम यहाँ जन्मेको पुस्ताले त यताको राजनीतिमा नेतृत्व गर्न सक्छ त्यसको लागि बाटो देखाउने काम त गर्नु पर्यो।’
‘बाराक ओवामा अमेरिकाका राष्ट्रपति भइसक्दा पनि हामी यहाँ कांग्रेस र कम्युनिष्टको नाममा पानी बाराबार गर्छौ ,यो राम्रो लागेन’, नापितले तितो पोखे।
‘बोकेर आएको राजनीतिमै अड्किने र भडकिने हो भने हाम्रो प्रगति हुन सक्दैन। यहाँको विकास निमार्ण र नीति सिद्धान्तमा सहभागिता जनाउनु अहिले आवश्यकता हो’, नापितले सुनाए।