सांगीतिक फाँटमा फरक पहिचान बनाएका बिपुल क्षेत्रीले सिड्नीको चिस्सिएको मौसममा आफ्ना प्रशंसकलाई गज्जबले तताएका छन्।
माया इभेन्ट्सको आयोजनामा सिड्नीको लुना पार्कमा आयोजित 'माया विन्टर फेस्टिभल' मा हजारौं नेपालीबीच बिपुलले आफ्ना चर्चित गीत-संगीत पस्केका थिए।
क्षेत्रीले 'भेट भयो आज सिन्डिकेटको माझ..., आकाशलाई छुने संसारलाई ढाक्ने..., पानी पर्यो सरर..., डढेलो लाग्यो त्यो पारी डाँडा...जस्ता चर्चित गीत गाएका थिए।
आयोजक प्रविण घिमिरेले सिड्नीमा खराब मौसमका बावजुद कार्यक्रम निकै सफल भएको बताए। सेतोपाटीसँग उनले भने, 'क्षेत्रीका प्रशंसकले लुना पार्कमा जम्मा भएर माया इभेन्ट्सलाई जुन माया गर्नुभयो त्यसका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौं।'
कालिङपोङमा जन्मिएका क्षेत्री पेशाले संगीत शिक्षक हुन्। पछिल्लो समयमा क्षेत्रीका सरल लयमा बनेका गीत विश्वभरीका नेपालीको रोजाइमा पर्न थालेका छन्।