प्रवासमा नेपाली समाज बाक्लिदैं गर्दा आवश्यकता र चाहनापनि बढ्दै गइरहेका छन्। अस्ट्रेलियामा सामाजिक संरचनासँगै नेपाली रितीतिथी र चाडपर्व पनि बढ्दै गएका छन् । नेपालमा मनाइने चाडवाड, पर्व र महोत्सवहरु मात्र हैन कर्म र धर्मपनि उत्तिकै मनाइन थालिएको छ अस्ट्रेलियामा।
दशैं तिहार मात्र हैनन्, बिवाह र ब्रतबन्धका संस्कार पनि उत्तिकै महत्वका बिषयमा पर्न थालेका छन्। करिब एक लाख नेपाली रहेको अस्ट्रेलिया व्यवस्थित बसाइका लागि नमुना मानिन्छ । यहाँ आएका नेपालीहरु प्रायः राम्रै बन्दोबस्तीमा छन्। कमाइ र बसाइमा पनि विश्वकै अब्बल ठहरिएको अस्ट्रेलियामा पर्व र कर्मको बाढी नै आउन थालेपछि नेपालीहरुलाई यतिखेर मन्दिर र सामुदायिक भवनको खाँचो देखिएको छ।
हरितालिका तीज पर्वमा मात्र हजारौं नेपालीहरु भारतीय स्वामित्वका मन्दिरमा गएर पूजापाठ गरे। हुन त भगवान कसैको हुँदैन तर यहा व्यवसायिक रुपमा संचालन गरिएका मन्दिर कमाइका हिसाबमा भने निकै गतिला मानिन्छन्। तीजमा मात्र सिड्नीको मिन्टोमा रहेको शिव मन्दिरमा हजारौं डलर भेटी चढाइयो। विवाह, ब्रतवन्ध र पार्टीका कुरै छाडौं। हप्तैपिच्छे हजारौं डलरको भोज भतेर हुन्छ अस्ट्रेलियाको नेपाली समाजमा। जन्मोत्सव, बेबी सावर, पास्नी र चाडवाड, हाउस वार्मिङ लगायतका भोज भतेरको कुरै बेग्लै छ।
समाज बढ्दै कला संस्कृति र चाडवाडले जरो गाड्दै गर्दा हामी नेपालीको आफ्नो मन्दिर र सामुदायिक भवन भने अस्ट्रेलियामा बन्न सकेको छैन।
कुरो धर्म कर्मको मात्रै होइन, रहनसहनको पनि होइन, सवाल हो अपनत्वको। भेला र जमघट अनि चाडपर्वमा विदेशमा पनि आफ्नै महत्वको घरमा बसेर खाने अनि मन्दिरमा पूजा गर्न पाइयो भने त्यो सुनमा सुगन्ध हुने थियो।
'हामी हजारौं डलर खर्च गर्छौं त्यो साँच्चिकै समुदायको हितका लागि पनि खर्चिन पाइन्थ्यो भने कति राम्रो हुन्थ्यो होला,' सिडनीका नेपाली कानुनवीद खिलेन्द्रराज तिम्सीना बताउछन्।
अस्ट्रेलियामा नेपाली समाज बाक्लिदैं गर्दा हाम्रो समाज फरक ढंगले अगाडि बढेको हो भन्ने तर्क गर्छन् तिम्सीना।
'आपसी सद्भाव र सम्मान त अरु भन्दा बढीनै छ हामीबीच,' तिम्सीना भन्छन्, 'तर, हामी नेपालीभन्दा पनि बढी झापाली, स्याङजाली र चितवनी, कास्केली र बिभिन्न समाजमा बढी विभक्त हुन थालेका कारण यस्ता महत्वपूर्ण विषयहरु गौण भएका हुन् की भन्ने लागेको छ।'
सिड्नीमा धेरै अघि यसको अवधारणा नआएको होइन। समुदायको लगानीमा ग्रानभिलमा जग्गा किनिसकिएको पनि छ। विविध कारण सामुदायिक भवन बन्न भने सकेको छैन। काउन्सिलसँग प्राविधिक पक्षको झन्झटले लामो समयदेखि अगाडि बढ्न नसकेको भवनको काम अन्तिमतिर पुगेको बताउँछन् संयोजक गोवा कटुवाल।
'हामीले सभा भवन, मन्दिर र बुद्धको मुर्तिसहितको योजना बुनेका छौं। काउन्सिलबाट स्वीकृति आउने बित्तिकै काम अगाडि बढ्छ,' कटुवालले भने।
मेलवर्नमा भने सामुदायिक भवनको अभियान जोडतोडले अगाडि बढिरहेको छ। अहिले भवनको लागि आर्थिक संकलन कार्य भइरहेको छ । ब्रिसबेनमा२०४५ सालमा एक्स्पोमा उपहार दिएको मन्दिर छ तर त्यो पूजाआजा भन्दा पनि सम्पदाका रुपमा छ।
'हामीले धेरै पहिला नै यो विषयमा छलफल चलाएका हौं तर यो महत्वको विषयभित्र नपरेको जस्तो भएको छ,' सिडनीमा दुई दशकदेखि स्थायी बसोबास गर्दै आएका दिनेश जोशी बताउँछन्।
'नेपाली भाषा, संस्कृति र धर्मकर्मलाई नयाँ पुस्तामा विस्तारित गर्न यो कदम अपरिहार्य छ,' जोशीको भनाइ छ।