सिडनीमा बस्दै आएका नेपाली विद्यार्थी यम धिताल अस्ट्रेलिया सरकारले प्रदान गर्ने वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय विद्यार्थी पुरस्कारबाट सम्मानित भएका छन्। यहाँको स्थानीय भेट कलेजमा अध्यन गर्दै आएका नेपाली विद्यार्थी यम धिताललाई उनको बहादुरी र लगनशिलतालाई मध्यनजर गर्दै सो पुरस्कार प्रदान गरिएको हो।
सिड्नीस्थित गभरमेन्ट हाउसमा आयोजित एक भब्य समारोहमा धिताललाई सम्मान प्रदान गरिएको हो। गत वर्ष सिड्नीको एसफील्डमा भएको एक आगलागीमा धितालले निकै जोखिम मोलेर एक बालकको उद्धार गरेका थिए। यो समाचार अस्ट्रेलियाका सबै समाचार माध्यमले प्रकाशित गरेपछि धिताल अस्ट्रेलियन सरकारको आँखामा परेका थिए।
पहिलो चरण, दोस्रो चरण र अन्तिम चरण गरी तीन चरणमा छनोट गरिएको यो अन्तर्राष्ट्रिय विद्यार्थी पुरस्कारवाट एक नेपाली पुरस्कृत हुने सिंगो नेपाल र नेपालीको लागि गर्वको बिषय बनेको कार्यक्रममा सहभागी न्यू साउथवेल्सका महाबाणिज्यदूत दीपक खड्काले सेतोपाटीलाई बताए।
उनलाई अस्ट्रेलियन सरकारका मन्त्री तथा न्यूसाउथवेल्स की प्रिमियर लगायतले सम्मानित गरेका थिए।
‘मलाई साच्चीकै गर्व र खुसी लागेको छ, अस्ट्रेलियाको गभर्मेन्ट हाउसमा एउटा नेपालीको छोरो यसरी सम्मानित हुन पाउनु मेरा लागि मात्र हैन हामी सबैका लागि खुसीको विषय हो जस्तो लाग्छ,’ पुरस्कृत भएपछि यम धितालले सेतोपाटीलाई बताए।