डाँफे फुटबल क्लबको आयोजनामा सञ्चालित एस अस्ट्रेलिया डाँफे एम्बसडेर कप फुटबल प्रतियोगिताको उपाधि मेलवर्नको युनाइटेड फुटबल क्लब (युएफसी) क्लबले जितेको छ।
अस्ट्रेलियामा सर्वाधिक धनराशीको प्रतियोगिताका रूपमा रहेको एम्बेस्डर कपको फाइनलमा आयोजक डाँफे एफसीलाई २-०ले हराउँदै युएफसीले उपाधि हात पारेको हो। करिब दश घन्टाको लामो यात्रापछि मेलवर्नबाट सिड्नी आइपुगेको युएफसीले दुई दिने प्रतियोगितामा आफ्नो बलियो शाख जमाउँदै उपाधिमाथि कब्जा गरेको हो।
सर्वाधिक धनराशीको पुरस्कार रहेको यस प्रतियोगिताको विजेताले पाँच हजार डलर ट्रफी तथा पदक हात पारेको छ। फाइनलमा युनाइटेडको तर्फबाट निरोज पाण्डेले पहिलो गोल गरेका थिए भने साजन थापामगरले दोस्रो गोल गरेका थिए। साजननै फाइनलका म्यान अफ दी म्याच समेत भए। उनले तीन सय डलर समेत हात पारे।
सेभेन ए साइडको लागि केहि ठूलो मानिएको एलभेन ए साइडको मैदानमा सम्पन्न फाइनल खेलमा युनाइटेडले आयोजक डाँफेमाथि एकोहोरो दबाब श्रृजना गरेको थियो। उनीहरूले गोल गर्ने करिब आधा दर्जन राम्रा मौका समेत चुकाएका थिए।
डाँफेका गोलरक्षक समिर खानले केही उत्कृष्ट बचाउ गरेपछि गोल अन्तर कम भएको थियो। सुरज श्रेष्ठ, एकजन तुलाधर लगायतका खेलाडीको खेल हेर्न लायक देखिन्थ्यो।
प्रतियोगिताको अन्य उपाधिहरुमा डाँफेका अंकित रानामगरले प्रतियोगिताको उत्कृष्ट खेलाडी, समिर खानले उत्कृष्ट गोलरक्षक र बेनी एफसीका बिकास गौचनले सर्वाधिक गोलकर्ताको उपाधि हात पारे।
सबैलाई नगद पुरस्कार र ट्रफीबाट सम्मानित गरिएको थियो।
प्रतियोगितामा दोस्रो स्थान हात पारेको डाँफे ब्लुले भने दुई हजार डलर हात पार्यो।
बिजेतालाई प्रायोजकका तर्फवाट एस अस्ट्रेलियाका निर्देशकद्धय अभिषेक प्रधान, दीपक अग्रवाल, इनोभेटिभका डीला खरेलले लगायतले ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए।
आयोजक क्लबका तेजमान तामाङले आगामी वर्षमा अझ थप आकर्षक रूपमा प्रतियोगितालाई निरन्तरता दिने बताए।उनले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सबै सहयोगी, प्रायोजकहरुलाई धन्यबाद दिए।