चीनले कोरोना भाइरसको उद्गम स्थल हुबे प्रान्तको वुहान शहरबाट बुधबार लकडाउन हटाएको छ। योसँगै त्यहाँ गाडी, ट्रेन र मान्छेको चहलपहल बढ्न थालेको छ।
संक्रमणको संख्या कम हुँदै गएको चीनमा यसको अर्थ अब संक्रमण खतरा छैन भन्ने होइन।
उसले पुनः भाइरसको संक्रमण नफैलियोस् भनेर विश्वस्त हुन नयाँ प्रोटोकलको घोषणा गरेको छ।
बिहीबारदेखि चीनले कोरोना भाइरस संक्रमण निको भइसकेका बिरामीहरुलाई पुनः परिक्षण गर्ने नयाँ प्रोटोकल तयार पारेको छ।
नयाँ प्रोटोकल अनुसार संक्रमणको लक्षण नदेखिएका बिरामीको समेत कोरोना परीक्षण गरिनेछ।
चीनको राष्ट्रिय स्वास्थ आयोगका अनुसार १,०९७ लक्षण नदेखिएका संक्रमितको चिकित्सकिय जाँच हुँदैछ।
नयाँ प्रोटोकलमा कोरोनाबाट निको भइसकेका बिरामीहरु अस्पतालबाट बिदा भएपछि पनि उनीहरुको स्वास्थ्य अनुगमन गरिनेछ। यसका साथै उनीहरू पुनः परिक्षण र डाक्टरसँग सम्पर्कमा समेत रहनु पर्नेछ।
त्यस्तै डिस्चार्ज पछि बिरामी थप १४ दिन स्वः एकान्तवास बस्नुपर्नेछ। यस अवधिमा कुनै पनि लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाहमा लिन जानुपर्नेछ।
अप्रिल १ देखि चीनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले लक्षण नदेखिएका कोरोना संक्रमितको दैनिकी रिपोर्ट तयार पारिरहेको छ।
यसैगरी पछिल्लो समय निके कम संक्रमित देखिएको चीनमा बिहीबार ४२ नयाँ संक्रमित फेला परेका छन्। फेला परेकामध्ये ३८ संक्रमण देश बाहिरबाट चीनका आएकाहरूमा पाइएको हो।