बेइजिङले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रोकथाम र नियन्त्रणका लागि ६ सय ८२ नर्सिङ होममाथिको कडा निगरानीलाई सोमबारदेखि केही खुकुलो पार्ने बताएको छ।
चीनमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि ती संस्थामा रहेका करिब ४८ हजार जेष्ठ नागरिकहरूलाई वसन्त पर्व (स्प्रिङ फेस्टिवल) को विदामा घर पठाइएको थियो तर जनवरी २७ पछि उनीहरू कसैमा पनि सङ्क्रमण नदेखिएपछि नर्सिङ होमलाई पुनः सञ्चालनमा ल्याउन लागिएको हो।
बेइजिङ नगर नागरिक मामिला विभागका उपप्रमुख लि होङविङले आइतबार साँझ पत्रकार सम्मेलनमा भने, 'मे १८ पछि ती संस्थामा पारिवारका सदस्यलाई भेट्न, घर गएका जेष्ठ नागरिकलाई फिर्ता ल्याउन, कामदारलाई फिर्ता गर्न र नयाँ कामदारलाई भर्ना गर्न दिइनेछ। तर यसका लागि नर्सिङ होमले सङ्क्रमणबाट सुरक्षाका लागि आवश्यक प्रक्रियालाई पालना गर्नुपर्नेछ।'
नर्सिङ होममा फिर्ता वा नयाँ भर्ना हुने व्यक्तिहरूले १४ दिन आइसोलेसनमा र चिकित्सकको निगरानीमा बस्नुपर्ने छ भने न्युक्लियक एसिडसम्बन्धी कम्तीमा दुई वटा परीक्षण पनि गर्नुपर्नेछ।
बेइजिङमा सन् २०१९ सम्ममा दर्ता भएका ६० वर्ष वा सोभन्दा माथिका नागरिकको सङ्ख्या ३५ लाख २० हजार रहेको छ।