गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा त्रि-पक्षीय भिडन्त हुने भएको छ।
संघको १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाकी रविना थापा, रूसका बद्री केसी र बेलायतका कुल आचार्यले उम्मेद्वारी दिएका छन्।
वर्तमान उपाध्यक्ष समेत रहेकी रबिना थापाले बिहीबार राजधानीमा आयोजि पत्रकार सम्मेलनमार्फत औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेकी हुन् भने कार्यसमिति सल्लाहकार कुल आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। वर्तमान उपाध्यक्ष रसियाका डा. बद्री केसीले यसअघिनै आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन्।
यसैबीच केही दिन आगाडि कुल आचार्यको समूहले संस्थापन पक्षले अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा व्यापक धाँधली गरेको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ।
अध्यक्षका उमेद्वार बद्री केसी यसलाई राजनीतिक हस्तक्षेपको रूपमा लिन्छन् । अर्का अध्यक्षका उमेद्वार रविना थापाले पनि परराष्ट्रको हस्तक्षेपलाई विरोध गरेकी छन्।
आजसम्म पनि निर्वाचन तोकिएकै मितिमा हुने/नहुने अन्यौल भए पनि वर्तमान कार्यसमितिले कुनै हालतमा अक्टोबर २० मै निर्वाचन गर्ने दाबी गर्दै आएको छ।
तीन अध्यक्षका आ-आफ्ना एजेन्डा यस्ता छन्।
बद्री केसी
- १- गैरआवासीयलाई नागरिकता दिलाउने।
- २ - बैदेशिक रोजगारीमा भएका समास्या समाधान गर्ने।
- ३ - बौद्विक वर्ग र दोस्रो पुस्ताका युवालाई एनआरएनएमा आबद्ध गराउने ।
- ४ - गैरआवसीय नेपालीको लगानी नेपाल भित्र्याउने ।
- ५ - श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने।
- ६ - नेपाली भाषा, साहित्य र कलाको बेलीविस्तार गर्ने।
- ७- एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने ।
- ८ - एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने ।
- ९ - वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने ।
कुल आचार्य
- १- पैतृक सम्पतिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकताका साथ नेपाल सरकारसँग पहल गर्ने ।
- २ - म्यानमार, थाईल्याण्डलगायतका मुलुकमा बसोबास गरिरहेका नेपालीमुलका दाजुभाइ दिदी बहिनीलाई पिपुल अफ नेपाली अरिजिनको मान्यता दिलाउन अधिकतम प्रयास गर्ने।
- ३- संघका पञ्जीकृत सदस्यको संख्या ५ लाख पुर्याउने।
- ४- राष्ट्रिय समन्वय परिषदको संख्या १०० पुर्याउने ।
- ५ - नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा एनआरएनए सिप विकास केन्द्र स्थापना गरिने।
- ६ - कोभिड्का कारण रोजगार गुमाएर फर्केका युवाका लागि एक एनआरएनए एक रोजगार अभियान सुरु गरिने ।
- ७ - एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग संझौता गरिने ।
- ८- विदेशमा हुर्किएका बालबालिकालाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गरी अनलाइन कक्षा सञ्चालन गरिने।
- ९ - एनआरएन खेल प्रतिभाको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने ।
रबिना थापा
‘समृद्धि सुरक्षा र समर्पण’ आफ्नो ट्याग लाइन भएको बताउने थापाको घोषणा यस्तो छ।
- १ - एनआरएनएमा भएका गलत कामको परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता।
- २ - सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई कार्यान्वयनमा ल्याउने।
- ३ - एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफू अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य सङ्ख्या १५ लाखसम्म पुर्याउने ।
- ४ - वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित गरी श्रमिक अधिकार, महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउने।
- ५- नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने।
- ६ - विदेशमा हासिल गरेका सीपलाई उचित योजनाका साथ व्यावसायिकीकरण गरिने।