‘आफ्नो देश नेपालका लागि केही गरेनन्,’ परदेशिएका नेपालीलाई आरोप लाग्ने गर्छ। तर, यो आरोप सबैमा लागू हुँदैन भन्ने पछिल्लो उदाहरण हुन् डा. प्रभात खनाल।
नर्वेको नोर्ड विश्वविद्यालयका दिगो पशु पोषण विषयका सह–प्राध्यापक उनलाई आफ्नो देशका लागि सक्दो केही गर्नुपर्छ भन्ने हुटहुटीले अताइरहन्छ।
नेपालमा शिक्षाको क्षेत्रमा सम्पन्नशाली नर्वेबाट केही परियोजना पार्न सकिन्छ कि भनेर प्रस्ताव तयार गरेर नर्वेका विभिन्न क्षेत्रमा पेस गरिरहेका थिए। तर, पनि सोंचेजस्तो भने भएको थिएन। प्राध्यापन र परिवारलाई समय दिएपछि बाँकी समयमा यता घोत्लिन्थे। र, पटक–पटक प्रयास गरी नै रहे।
गएको अक्टुबर २९ मा भने खुसी दिने खबर डा. खनालले पाए। मार्चमा उनले पेस गरेको प्रस्ताव स्वीकृत भएको रहेछ। र, नेपालका लागि झन्डै १० करोड रूपैयाँ बराबरको परियोजना प्राप्त भएको छ। पशुपालन क्षेत्रमा वैकल्पिक दाना तथा दानाजन्य पशु स्वास्थ्यवर्द्धक वस्तुको अध्ययन तथा अनुसन्धानका लागि परियोजना परेको खनालले सुनाए।
‘परदेशमा भए पनि आफ्नो देशको शिक्षामा केही गरौं भनेर पहिलाबाटै प्रयास गरेको थिएँ, सफल भइएको थिएन, यसपालि भने प्रोजेक्ट परेछ,’ उनले खुसी व्यक्त गर्दै सेतोपाटीसँग भने। स्याङजा घर भएका खनालले डेनमार्कको कोपनहेगन विश्वविद्यालयबाट पिएचडी सकाएर ६ वर्षदेखि नर्वेमा प्राध्यापन गर्दै आएका छन्।
विश्वव्यापी शैक्षिक सहयोगका लागि नर्वेली साझेदारी कार्यक्रम (नोरपार्ट) मार्फत १० करोड रूपैयाँभन्दा बढी अनुसन्धान अनुदान रकम प्राप्त हुने भएको हो। परियोजना अब सन् २०२२ जनवरीबाट सुरु हुनेछ। आवेदन दिएका १५० प्रस्तावमध्ये अनुदान पाउने २६ वटामा डा. खनालले पेस गरेको प्रस्ताव पनि छानिएको हो।
अब यो परियोजना काठमाडौं विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरमा सञ्चालन हुनेछ। यी २ विश्वविद्यालसँग खनालले प्राध्यापन गराउने नर्वेको नोर्ड विश्वविद्यालय जोडिनेछ। यो परियोजनाको संयोजन खनालले गर्नेछन्। ‘सुरूमा आफैंले सोचेँ। प्रस्ताव लेखे र नेपालका साथीहरुसँग सरसल्लाह गरें जे होस् यो भिन्न विषयमा नेपालमा अब अध्ययन र अनुसन्धान हुनेछ,’ खनालले भने ।
५ वर्षे अध्ययन अनुसन्धान परियोजनाले नेपालमा भएका किरा, वन तथा कृषि उप–उत्पादनहरु, तथा पानी जन्य वनस्पतिको कसरी भविष्यमा दिगो तथा वातावरणमैत्री पशुपालन क्षेत्रको विकासका लागि टेवा पुर्याउन सक्छ भन्नेमा केन्द्रित हुने बताइएको छ ।
विश्वव्यापी खाद्य सुरक्षाको महत्वपूर्ण अंग रहेको पशुपालन क्षेत्रले वातावरणमा नकारात्मक असर पुर्याउँछ र पशुपालन क्षेत्रमा भएको अत्यधिक एन्टिबायोटिकको प्रयोगले पशु र मान्छे दुबैको स्वास्थ्यमा खराब प्रभाव पार्ने गरेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। यहि विषयमा नेपालमा अध्ययन अनुसन्धान हुन लागेको हो।
परियोजना अन्तर्गत नेपाली विद्यार्थी २० जना स्नातकोत्तर र ४ जना पिचडीका लागि नर्वे जानेछन् भने ८ जना नर्वेली नेपाल आउनेछन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरका सह–प्राध्यापक सुन्दर तिवारीले दीर्घकालीन रुपमा पनि यो विषयमा अध्ययन अनुसन्धानले महत्वपूर्ण उपलब्धि हुने बताए।
‘कन्सेप्ट डेभलप प्रभातजीले गर्नुभएको हो, प्रोजेक्ट पर्यो हाम्रो लागि धेरै नै महत्वपूर्ण विषय हो, यो विषयमा हामी बल्ल पहिलो पाइला हो, दीर्घकालसम्म राम्रो अर्थ राख्छ,’ तिवारीले भने ।
नर्वेले नेपालको शिक्षामा अन्य परियोजनामा अध्ययनका लागि पहिला पनि सहयोग गरे पनि कृषि र पशुपालन सम्बन्धी भने यो पहिलो हो। काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक वेदमणि दाहालले यो अध्ययन अनुसन्धानले नयाँ पाठ्यक्रम तयारसमेत गर्ने बताए। ‘यो नयाँ विषयमा अध्ययन र अनुसन्धान हुनेछ, नयाँ पाठ्यक्रम पनि तयार हुनेछ र दुवै देशका विद्यार्थीबीच अनुभव आदानप्रदान हुनेछ हाम्रो लागि महत्वपूर्ण छ,’ दाहालले सुनाए ।
फोटोमा डा. खनाल र परियोजना स्वीकृत भएको जानकारी ।