नेपाली बाजा समूह कोपेनहेगनले नेपाली नयाँ वर्षको अवसरमा डेनिसहरूलाई नचाएको छ।
प्रवासको व्यस्त जीवनशैली बिच नेपाली कला संस्कृति, परम्पराको जगेर्ना र सम्वर्द्धन गर्न स्थापित समूहले बिहीबार ओडेसेमा आयोजित नेपाली कल्चरल साँझमा परम्परागत पञ्चेबाजामा डेनिसहरूसमेत छमछमी नाचेका थिए।
गैर आवासीय नेपाली संघ साउथन डेनमार्क क्षेत्रीय समिति ओडन्सेले विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
डेनिसको एक साता लामो इस्टर बिदा र नेपाली नयाँ वर्ष एकै समयमा परेकाले नेपालीसँगै डेनिसहरू पनि सहभागी भएका हुन्।
हिउँदको पारिलो घाममा विदेशी सांस्कृतिक प्रस्तुति नियालीरहेका उनीहरू विभिन्न नेपाली गीत, नृत्यदेखि लाखे नाचसम्म प्याराफिटमा बसेर हेरिरहे। तर जब नेपाली बाजा समूह डेनमार्क प्रस्तुतिका लागि स्टेजमा चढ्यो, माहौल अर्कै बन्यो। सुरूमै बजेको नरसिंहाको धुनले वरपरका दर्शकहरू स्टेज नजिक आए। समूहले एक पछि अर्को गर्दै लोकप्रिय नेपाली गीतमा प्रस्तुति दिँदै गयो।
उनीहरूको बाजाको तालमा सहभागी नेपालीहरू नाच्न थाले। केही समय त्यो पनि हेरिरहेका उनीहरू एकाएक मञ्चमै पुगेर नेपालीकै तालमा नाच्न थाले।
नेपालीले जस्तै राम्रोसँग ‘उठो बसो’ को स्टेपमा डेनिसहरू लट्ठ पर्दै नाचेका थिए। ‘डेनिसहरू नेपाली नाँचको खुट्टा मर्काइ, कम्मर मर्काइ दुरूस्तै गरेको देखेर मेरो बिट नै खुस्किएछ, बाजामाभन्दा त्यता बढी ध्यान गएछ’, बाद्य बादक रामचन्द्रले भने।
‘बाजाको तालले मलाई नाच्न जुरूक्कै उठाएको हो’, आफ्नी प्रेमिकासँगै स्टेजमा नाच्न पुगेका स्थानीय पिटरले भने।
पिटरसँगै नाचिरहेका मिशेलको जोडी पनि जानी नजानी कम्मर मर्काइरहेका थिए।
‘पञ्चेबाजा यती राम्रो खारिएको छ भन्ने त मैले सोचेकै थिएन। नहेरेको धेरै भएछ’, ईनास डेनमार्कका वरिष्ठ उपाध्यक्ष सुदीप श्रेष्ठले भने।
वान्समोरका आवाज घन्किरह्यो, गीतका अनुरोध आइरह्यो। आयोजकले २० मिनेट समय छुट्टाएको बाजा समूहले ४० मिनेटसम्म प्रस्तुती दिँदा पनि माहोल घटेन।
साँझमा हुने मिट एन्ड ग्रिटमा फेरि प्रस्तुति दिने भन्दै बाद्य वादकहरू स्टेजबाट ओर्लिए।
‘बाजा बजाउँदा यसरी नाच्ने भए भने त म १ घण्टासम्म पनि बजाउँछु’, सहनाईवादक सुरेश छन्त्याल मञ्चबाट ओर्लदै गर्दा भन्दै थिए।
बाजा यतिको हुनुमा बाद्य वादकको वर्षौदेखिको अभ्यास, मेहनत र साधना भएको बाद्य वादक कृष्ण सुबेदीले जानकारी दिए।
आफ्नो व्यस्त प्रवासको जीवन आयआर्जनमा लगाउन छोडेर आफ्नो देशको मौलिक कला संस्कृति र गीत सङ्गीतमा दिनु सानो छातिले सम्भव नहुने उनले बताए।
हप्तै पिच्छे अभ्यासस्थल बुक गरेर ७-८ जनाले घन्टौं गर्ने साधनाले नेपाली बाजा समूहको प्रस्तुतिमा निखारपना आएको छन्त्यालले बताए।
कोपनहेगनमा आयोजना हुने नेपाली कार्यक्रममा अपरिहार्य बनिसकेको पञ्चेबाजाको माग अब डेनमार्कको अलावा स्विडेन, नर्वे, जर्मनी, बेल्जियमबाट आउन थालेको अभियन्ता प्रभात किरणले बताए।
विवाह, वैवाहिक वर्षगाँठ, सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन प्रस्तावहरू आए पनि समय अभावले सबैलाई हुन्छ भन्न नसक्दा मन अमिलो हुने बाजा समूहका अध्यक्ष सुरेश छन्त्यालले बताए।
समूहमा जोडिएका सबै सदस्य आ-आफ्नो काममा व्यस्त भएकाले बिदाका दिनमा बाहेक अन्य समयमा बोलाए पनि नभ्याउने उनले बताए।
‘पञ्चेबाजा भन्न सजिलो जस्तो देखिए पनि ८, ९ जना बाद्य वादकको समय मिलाएर प्रस्तुति दिन प्रवासको ठाउँमा सोचेजस्तो सहज नहुने टोली सदस्य जयलाल न्यौपानेले भने।