वषौदेखि बसोवास गर्दै आएका प्रवासी नेपालीले कोलकतामा नेपाली हाउस निर्माणको अभियानमा लागेका छन्।
तेस्रो मुलकसँगको व्यापारका लागि मुख्य पारवहन मार्गको रुपमा रहेको कोलकतामा बसोबास गर्दै आएका नेपालीहरूले ‘नेपाल हाउस’ निर्माण अभियान सुरु गरेका हुन् ।
आइतबार कोलकतामा सम्पन्न भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चको चौथो वार्षिक साधारणसभा उद्घाटन समारोहमा यो जानकारी दिइएको हो।
नेपाल सरकार प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले साधारणसभा उद्घाटन गरेका थिए। कोलकातामा नेपालीहरुले गर्ने कार्यक्रम तथा अतिथिहरुको बसोबासको लागि सहज होस् भन्ने उद्देश्यले नेपाली भवन बनाउन लागिएको मञ्चका पदाधिकारीहरुले कार्यक्रममा बताए।
भवन निर्माण अभियानमा मञ्चसँगै सहकार्य गरिरहेको नेपाली वेलफेयर ट्रष्टका अध्यक्ष खिमराज बरालले कोलकातामा बसोबास गर्दै आएका नेपालीहरूको हित संरक्षण र सहजताकाका साथै मिलन थलोको रुपमा भवन बनाउने गुरुयोजना बनाइएको बताए।
यो प्रयोजनका लागि करिब एक करोड भारतीय रूपयाँमा ११ कठा जग्गा खरिद भइसकेको जानकारी बरालले दिए।
सो जग्गामा ४ तले भवन निर्माणको योजना रहेको र यसका लागि ११ करोड भारु आवश्यक पर्ने उनले बताए।
ट्रष्टले सहयोगका लागि सरकारलाई लेखेको मागपत्र कोलकातास्थित नेपाली महावणिज्यदूत एकनारायण अर्याललाई बुझाएको छ। सचिव राईले भवन निर्माणका लागि आवश्यक सहयोगका लागि सरकारसमक्ष पहल गर्ने बताए।
महावाणिज्यदूत अर्यालले भवनका लागि जग्गा खरीदमा सरकारले ६ लाख भारु सहयोग गरेको बताउँदै आउँदा दिनमा पनि सक्दो सहयोग गर्ने र यसका लागि आफूले प्रयास जारी राख्ने पनि बताए ।
कोलकातामा करिब ३ लाख नेपाली बासोबास गर्दै आएका छन्। विभिन्न पेशा र सेवामा कार्यरत नेपालीहरु सङ्गठित भएर हित प्रवर्धनका साथै सामाजिक र साहित्यिक सृजनामा सक्रिय भएको संयुक्त नेपाली केन्द्रीय सेवा समितिका अध्यक्ष नरविक्रम थापाले बताए।