भारतमा दुई साताको अवधिमा बाढीका कारण मृत्यु हुनेको संख्या छ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौं घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त छन्।
त्यसैगरी दशौं लाख मानिस घरबारविहीन भएका छन् भने देशका छ प्रदेशमा बाढी र पहिरोको प्रकोप बढी देखिएको छ।
भारतमा जुलाई र अगस्ट महिनामा अत्यधिक वर्षा हुन्छ।
भारतका टेलिभिजन च्यानलहरुले सवारी साधनहरु सडकका पानीमा डुबेको दृश्य देखाएका छन्।
बाढी पहिरोबाट देशभरका कार्यालय भवन र आवासीय घरहरू प्रभावित भएका छन्। यसरी प्रभावित हुनेमा नयाँदिल्लीका केही भाग र छिमेकी नोयडाका गाउँ पनि छन्।
सञ्चार माध्यमका अनुसार बाढी पहिरोबाट सबभन्दा बढी प्रभाव दक्षिण पश्चिमी राज्य महाराष्ट्रमा परेको छ। त्यस राज्यमा मात्रै १४० भन्दा बढीको मृत्यु भएको छ। त्यसैगरी दक्षिणी राज्य केरलामा १२६, पश्चिम बंगालमा ११६, उत्तर प्रदेशमा ७०, गुजरातमा ५२ र असाममा ३४ जनाको मृत्यु भएको छ।
भारत सरकारले बाढी पहिरोबाट प्रभावितको खोजी, उद्धार तथा राहत प्रदान गर्न देशका अति प्रभावित ६ वटा राज्यमा राष्ट्रिय प्रकोप सहायता बल (एनडीआरएफ)का ४३ टोली परिचालन गरेको छ। सबै एनडीआरएफमा कम्तीमा ४५ जना छन्।
बाढी पहिरोबाट मानवीय र भौतिक संरचनाको क्षतिसँगै ठूलो मात्रामा खेतीवाली र खेतीयोग्य जमिन समेत नष्ट भएको छ।