भारतका विपक्षी दलहरूले सोमबार भारत बन्द आयोजना गरेका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेससहितका दलहरूले बन्द आयोजना गरेका हुन्।
भारतमा पछिल्लो केही समय पेट्रोलियमको भाउ लगातार बढिरहेको छ। कतिपय राज्यमा पेट्रोलको भाउ ८० भारूभन्दा माथि पुगेको छ। आइतबारमात्र पेट्रोलमा प्रतिलिटर १२ र डिजेलमा १० पैसा भाउ बढेको छ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म आयोजना गरिएको बन्दमा कंग्रेससहित २० दलले समर्थन जनाएका छन्। कंग्रेस अध्यक्ष राहुल गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह लगायतका नेता रामलीला मैदानमा भएको प्रदर्शनमा सहभागी भएका छन्।
कर्नाटक लगायत राज्यमा विद्यालय, कलेज र कार्यालयमा छुट्टी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। कैयौं राज्यमा रेलसेवा प्रभावित भएको छ भने बैंगलुरूमा प्रहरीले सम्भावित क्षति रोक्न पेट्रोल पम्प नखोल्न आग्रह गरेको छ। महाराष्ट्रमा पनि धेरै पेट्रोल पम्प बन्द छन्।