भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ।
भारतीय रेलसेवाले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकका मृत्यु भएको हो।
भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। सो दुर्घटनापछि भारतीय रेलसेवा कार्यालयले यो जानकारी गराएको हो।
रेलमार्गको नजिकैबाट भारतीय हिन्दुहरूको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरूको मृत्यु भएको थियो।
यस तीन वर्षमा ४९ हजार ७९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको हो। भारतीय रेलसेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैयौं कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए पनि यसरी मृत्यु हुनेको संख्या भने नघटेको बताइएको छ।
भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन्।(रासस/एपी)