भारतको राजधानी नयाँ दिल्लीमा यो वर्षकै उच्च प्रदूषण भएको छ। जाडोयाम सुरू भएलगत्तै बढेको प्रदूषण 'दिवाली' सँगै झनै चुलिएको हो।
दिवालीमा रमाइलो तथा मनोरञ्जनका लागि पटाका पड्काउने क्रम नरोकिएकाले प्रदूषणस्तर बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पटाकाको धूँवाले मानव शरीरलाई नकारात्मक असर गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययनले देखाएको छ।
डब्लुएचओका अनुसार नयाँदिल्ली संसारभर छैटौं प्रदूषित सहर मानिन्छ। यहाँको प्रदूषणस्तर सुरक्षित तहभन्दा २० गुणा बढी छ।
वातावरणमा प्रतिकूल असर पर्ने भएकोले सर्वोच्च अदालतले पटाका पड्काउन रोक लगाएको थियो। यसका बाबजुद पटाका पड्काउने गतिविधि रोकिएन। फलस्वरूप घट्दै जाने अनुमान गरिएको दिल्लीको प्रदूषण दिवालीपछि झनै बढेको छ।
केही दिनयता दिल्लीको आकाश ‘विषालु’ तुँवालोले ढाकेर प्रदूषित भएको छ। दिल्लीवासी सकेसम्म घरभित्रै बस्न थालेका छन्। बाहिर जानुपरे नाक-मुख पूरै ढाक्नुपर्ने अवस्था छ।
हरेक वर्ष यो याममा छिमेकी राज्य हरियाणामा बाली जलाउँदा निस्कने धुँवाले दिल्लीको हावा प्रदूषित हुन्छ। हरियाणामा बाली लगाएका खेतबारी सफा गर्न जलाउने चलन परम्परागत हो।
साढे चार करोडभन्दा बढी जनसंख्या रहेको राजधानी दिल्लीको प्रदूषण नियन्त्रण गर्न अधिकारीहरूलाई सकस परिरहेको छ। तिहारमा पटाका पड्काउन प्रतिबन्ध गरे पनि खासै प्रभावकारी हुन सकेन।