भारतीय संसदको सूचना तथा प्रविधि समितिले ट्विटरलाई सोधपुछका लागि डाकेको छ।
ट्विटरले भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (बिजेपी) पक्षधर र दक्षिणपन्थी समूहका ट्विटर अकाउन्टमाथि बढी निगरानी गरेको सार्वजनिक भए लगत्तै समितिले सोधपुछका लागि डाकेको हो।
भारतीय संसदको सूचना तथा प्रविधि समितिका सभापति अनुराग ठाकुरले ट्विटमार्फत् ट्विटर र भारतको सूचना प्रविधि मन्त्रालयलाई छलफलका लागि डाकिएको जानकारी दिएका हुन्।
दुवैलाई आउँदो साताको मंगलबार तीन बजे छलफलमा आउन सूचना पठाइएको हो।
भारतीय संसदीय समितिले नागरिकको सामाजिक सञ्जाल र अनलाइन मिडियामाथिको अधिकार रक्षाकासम्बन्धी छलफलका लागि भन्दै दुवैलाई धारणा दिन भन्दै डाकेको हो।
ट्विटरले भने सोधपुछका लागि डाकिएकोमा कुनै टिप्पणी सार्वजनिक गरेको छैन।
भारतीय लोकसभा चुनावको पूर्व सन्ध्यामा सामाजिक सञ्जाल र फेक न्यूजले चुनावमा पार्ने प्रभावबारे छलफल चुलिँदो छ।
समितिका सदस्यहरूलाई उदृत गर्दै टाइम्स अफ इण्डियाले ‘फेक न्यूज’ का विषयमा समेत समितिले ट्विटरसँग छलफल गर्न लागेको जनाएको छ।
समितिले ट्विटरलाई सूचना फिल्टर गर्न प्रयोग हुने प्रविधि र पक्षपातका उजुरीमा हुने काम कारबाहीबारे समेत सोधपुछ गर्न लागेको हो।
गत डिसेम्बरमा भारतको सूचना तथा प्रविधि मन्त्रालयले ट्विटर, फेसबुक, ह्वाट्सएप जस्ता प्रविधि कम्पनीहरूले गैरकानुनी सूचना २४ घण्टाभित्रै हटाउनै पर्ने बाध्यकारी व्यवस्था गर्ने जनाएको थियो।
सामाजिक सञ्जालहरूले पछिल्लो समय निर्वाचन प्रभावित पार्न थालेका छन्। अमेरिकी राष्ट्रपति निर्वाचन समेत सामाजिक सञ्जालमा आएका फेक न्यूजका कारण प्रभावित भएको थियो। फेसबुक र ट्विटरले फेक न्यूज र गलत सूचना फैलनबाट रोक्न कदम चालिरहेको बताउँदै आएका छन्।